अविरल वर्षासँगै बाढीपहिरोका कारण शुक्रबार २१ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका अनुसार १० जना घाइते भएका छन्। शनिवार बिहान ६ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल प्रहरीले बाढी पहिरोमा परी अहिलेसम्ममा १० जना बेपत्ता भएका छन्।
बेपत्ताको खोजी जारी राखेको प्रहरीले जनाएको छ। यो अवधिमा ५० जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट जनशक्ति, स्रोत साधन परिचालन गरी उद्धार जारी राखेको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ ।
घर घरमा पानी पसेका कारण जनजीवन कष्टकर भएको छ भने सडकमा आवागमनमा समस्या भइरहेको छ । पानीको निकास नभएका कारण मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय समितिलगायतका कार्यालय डुबानमा परेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवागमन अवरुद्ध भएको छ ।
अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । पुल भत्किएपछि बर्दिवास नगरपालिका–५ सशस्त्र प्रहरीको माईस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौँ गाडी रोकिएका छन् । रातिदेखि नै यात्रु सडकमा अलपत्र छन् । कतिपय यात्रु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन् ।
शनिबार बिहान विपत् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सक्रियतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । बर्दिवासको १४ नम्बर बजारका केही घरमा सडकको पानी पसेको छ भने किसाननगरमा तीन वटा घर भत्किएको बर्दिवास नगरपालिका–७ का अध्यक्ष फागुनी मगरले बताए ।