राप्ती नदीको बहाव बढेपछि दुई दिनदेखि आवागमन ठप्प

राप्ती नदीको बहाव बढेपछि बाँकेको भम्का र अमुवागाउँका बासिन्दाको आवागमन दुई दिनदेखि ठप्प भएको छ । नदीमा आएको बाढीका कारण डुङ्गा सञ्चालन हुन नसकेपछि भम्का र अमुवागाउँका सयौँ बासिन्दाको आवागमन ठप्प भएको हो ।

राप्तीसोनारी गाउँपालिका वडा नं १ स्थित भम्का र अमुवागाउँ पुग्नका लागि पुल नबनेका कारण राप्ती नदीमा बाढी आउनासाथ वर्षेनी आवागमन बन्द हुने गरेको स्थानीय शिक्षक भुवन खुनाले बताए । उनका अनुसार, शनिबार बिहानदेखि नदीको बहाव बढेको हो । आवागमन बन्द हुँदा वडा कार्यालय, गाउँपालिका कार्यालय र सदरमुकाम नेपालगञ्ज जाने यात्रु समस्यामा परेका छन् ।



‘नदी वारपार गर्ने कुनै माध्यम छैन, पैदल हिँड्ने बाटोसमेत अवरुद्ध भयो’, खुनाले भने, ‘नदीमा पानी बढ्दैछ, गाउँतिर पसेर कटान गर्ने खतरा भएको छ ।’ आवागमन बन्द हुँदा बिरामी, अशक्तलाई बढी समस्या हुने गरेको छ । भम्का र अमुवागाउँमा स्वास्थ्य संस्था नभएकाले नदीमा पानीको बहाव नघट्दासम्म उपचार पाउनबाट समेत सर्वसाधारण वञ्चित भएको खुनाको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बाढीबाट हुनसक्ने जोखिमको अनुमान गर्दै स्थानीय प्रहरी, रेडक्रसलगायत निकाय पूर्वतयारीमा जुटेको बताए । ‘वर्षासँगै राप्तीको बहाव बढ्दै गएको छ’, अध्यक्ष थारूले भने, ‘सुरक्षा निकाय र नदी छेउका बासिन्दालाई सचेत रहन सूचना गरेका छौँ ।’

उनले भम्का र अमुवागाउँका बासिन्दा वर्षौँदेखि राप्ती नदीमा आउने बाढीबाट पीडित हुँदै आएकाले पुल निर्माणको प्रक्रिया अघि बढाइएको बताए । पुलको ठेक्का भइसकेकाले छिट्टै भम्का र अमुवागाउँका बासिन्दाको दुःख अन्त्य हुने उल्लेख गरे।

सम्बन्धित समाचार