

सरकारले शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने प्रतिबद्धता जनाएमात्र नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहसँग वार्ता गर्न सकिने दोहोर्याएको छ । सरकारले वार्ताको नाउँमा शक्ति सञ्चय गर्ने, क्षयीकरण भएको शक्ति पुनःताजगी गर्ने उद्देश्यले सो समूहसँग वार्ता गर्न नसकिने प्रष्ट पारेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सो कुरा बताएका हुन् । ‘सरकार वार्ता गर्न तयार छ, तर एजेण्डाविहीन वार्ता हुँदैन’, सरकारका प्रवक्ता बाँस्कोटाले भने, -‘दाउपेच र शक्ति सञ्चयका लागि वार्ता सम्भव छैन, ‘छक्का पञ्जा’ गर्ने उद्देश्यले वार्ता हुँदैन ।’
उजले विप्लव समूह हिंसा छाडेर, संविधान मानेर शान्तिपूर्ण प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाएर आएमा एक मिनेटमा समाधान निस्कने बताए । ‘स्पष्ट गन्तव्यसहित वार्तामा आउनुहोस्, सरकार सधैँ छलफल गर्न तयार छ’, मन्त्री वाँस्कोटाले भने ।

