माथागढी गाउँपालिकाले घरघरमा पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाका २७२ जनालाई घरमै पुगेर पूर्ण अपाङ्गताको परिचयपत्र वितरण गरेको हो ।
अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा सेवा दिन गाउँपालिकाले घर घरमा कर्मचारी तथा जनप्रतिनिधि परिचालन गरेर परिचयपत्र वितरण गरेको अध्यक्ष सन्तोष थापामगरले बताए ।
‘शारीरिक रुपमा अशक्त हुँदा उनीहरूलाई सहजरुपमा सेवा दिनु हाम्रो दायित्व हो, जीवन जीउनका लागि हौसला प्रदान हुनेछ भनेर घर घरमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेका छौँ’, उनले भने । गाउँपालिकाका आठवटै वडामा पुगेर ५१ रातो, १२७ नीलो, ५१ पहेँलो र ४३ सेतो कार्ड वितरण गरिएको छ । घरघरमा पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने माथागढी गाउँपालिका पहिलो हो ।