ट्रेड युनियनको अधिकार संविधानमा नै उल्लेख गरिएकोले खारेज हुँदैन : रक्षामन्त्री

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कर्मचारीमा असल कार्य संस्कृतिको विकास हुनुपर्ने बताएका छन् । नेपाल निजामति कर्मचारी सङ्गठनले बुधबार यहाँ आयोजना गरेको ‘शहीद मनोज–झपेन्द्र स्मृतिसभा तथा पुरस्कार वितरण’ समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारीले आफूलाई परिवर्तन गरी असलकार्य संस्कृतिमा बदल्नुपर्ने बताए ।

‘कर्मचारीतन्त्रमा एउटा पेशागत दायित्व रहेको छ भने अर्को सामाजिक दायित्वसमेत रहेको छ’, उनले भने, ‘ती दुबैलाई मिलाएर असलकार्य संस्कृतिको विकास गर्न जरुरी रहेको छ ।’ उनले सीमा अतिक्रमण, गैरनागरिकलाई नागरिकता, सार्वभौमसत्तामा अहिले पनि चुनौती थपिएकोले त्यसको बचाउन कर्मचारीको भूमिका रहनुपर्ने बताए।



अहिलेको परिस्थितिअनुसार कर्मचारीतन्त्र आफूलाई परिवर्तन गरेमात्र कर्मचारीतन्त्र रहनेसमेत उनको धारणा रहेको थियो । ‘हिजोको घङधङी, आग्रह, गलग आदतको अभ्यासबाट कर्मचारीतन्त्र चल्दैन’, उनले भने, ‘अव आफूलाई परिवर्तनशील बनाई मुलुक सार्थक निर्माण गर्नतिर लाग्नुपर्दछ ।’

उनले कर्मचारीतन्त्र उत्पादकत्व र गुणस्तरीय सेवा दिनुपर्ने समेत बताए । उनले मुलुकको अर्थतन्त्र दलाल पूँजीवादीको हातमा रहेको भन्दै त्यसलाई बचाउन काम कर्मचारीको रहेको समेत बताए ।

उपप्रधानमन्त्री पोखरेलले सरकार परिवर्तन मुख्य नभइ प्रणाली परिवर्तन रहेको उल्लेख गर्दै कर्मचारी प्रणालीपरिवर्तन गर्नतिर लाग्नुपर्ने बताए । उनले ट्रेड युनियनको अधिकार संविधानमा नै उल्लेख गरिएकोले खारेज नहुने जानकारी गराए ।

सम्बन्धित समाचार