नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले देश र जनताको समस्या प्रस्तुत गर्ने अन्तिम थलो सदन अवरुद्ध नगर्न प्रमुख प्रतिपक्षी दलसँग आग्रह गरेका छन् । रिपोर्टर्स क्लबमा आइतबार आयोजित साक्षात्कारमा उनले भने, ‘भोलिसम्ममा दलहरुबीच सार्थक वार्ता हुन्छ र सदन सञ्चालन हुने विश्वास छ ।’ असार ५, १४ र १५ गते सर्लाहीमा भएका गैरन्यायिक हत्याको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा नेकपाको सैद्धान्तिक बिमति नरहेको बताउँदै उनले असार ५ गतेको घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले कानूनी र न्यायिक आधारमा छानबिन गरिरहेको र यो अन्तिम चरणमा पुगेकाले संसदीय छानबिन समितिको औचित्य नभएको स्पष्ट पारे ।
असार १४ गतेको अमित राय यादवको मृत्युको घटनाको सम्बन्धमा रु पाँच लाख क्षतिपूर्ति दिनेसहित विभिन्न बुँदामा सहमति भइसकेको र असार १५ गते सरोजनारायण सिँहको मृत्युको सम्बन्धमा अभिभावक र राजनीतिक दलहरुबीच शहीद घोषणा गर्ने तथा क्षतिपूर्ति दिने सर्वदलीय सहमति भएकाले त्यसको फेरि कुरा उल्ट्याउनु जायज नभएको बताए ।
नेपाली काँग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुसालले आफूहरुले उठाएका माग सम्बोधन नभए सोमबार पनि संसद् अवरुद्ध हुने बताईन् । संविधान विरोधी गतिविधिको नेपाली काँग्रेसले विरोध गर्ने बताउँदै यी सबै विषयहरु उठाउने महत्वपूर्ण थलो भनेको नै संसद् हो भनिन् ।
राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले सर्लाही घटनाको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद् अवरुद्ध जारी रहने बताए । समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक उमाशङ्कर अरगरियाले काँग्रेस र राजपाले अविलम्ब वार्तामार्फत सहमति गरेर संसद् सञ्चालन गर्न दिनुपर्ने बताए । मुलुकमा बाढी, पहिरो र डुबानबाट ठूलो क्षति भएको अवस्थामा संसद् अवरुद्ध गर्नु राम्रो कुरा होइन उनले भने ।