नवकान्तिपुर संवाददाता
काठमाडौं
प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रामेछाप इन्चार्ज यादव ढुङ्गेललाई काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ गरेको छ । प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ढुङ्गेललाई आइतबार राति पक्राउ गरिएको हो । ढुङ्गेलमाथि काभ्रेपलाञ्चोकको भुम्लुस्थित एनसेल टावरमा आगजनी गरेको आरोप छ ।
यसैबीच सोही समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्यद्वय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पनि प्रहरीले शुक्रबार राति पनौती नगरपालिका–४ बाट पक्राउ गरेको छ । प्रहरीका अनुसार पनौतीमा विस्फोटक पदार्थ राखी आतङ्कित पारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
यता दमक नगरपालिका–२ स्थित बेलडाँगी क्षेत्रबाट प्रहरीको विशेष गस्ती टोलीले झापा जिल्ला सदस्य सोही वडा बस्ने वर्ष ३० का सुवास राई र कार्यकर्ता २८ वर्षीय पुकार योञ्जन पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैको साथबाट उक्त समूहका पर्चा, चन्दा रसिदसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए । उनका अनुसार वेलडाँगी क्षेत्रमा चन्दा असुलीलगायतका गतिविधिमा सङ्लग्न भएको विशेष सूचनाका आधारमा दुवैलाई पक्राउ गरिएको हो ।