पोखरामा २७ जनामा डेंगु संक्रमण

पोखराका विभिन्न क्षेत्रमा गरी हालसम्म २७ जनामा डेंगु संक्रमण भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ र ९ मा विशेषगरी धेरै डेंगु संक्रमणका बिरामीहरु भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सिनियर मेडिकल अपिसर डा. भोजराज गौतमले बताए । उनका अनुसार महानगरका १, २, ४, ५, ६, १०, १७, २५ वडाहरुमा डेंगुका बिरामी भेटिएका हन् ।

डेंंगुका करिब ५० प्रतिशत जसो बिरामीहरुको अस्पतालमा उपचार भइरहेको डा। गौतमले जनाए । उनले भने, “डेंगुको लागि २० देखि ३० डिग्री सेल्सियसको तापक्रम आवश्यक पर्छ, जुन तापक्रम पोखरामा यति बेला रहेको छ । पोखराका ८ र ९ वडामा बढी संक्रमणको चुनौती रहेको छ ।” सबैले आफ्नो घर र घरवरिपरि भएका खुल्ला भएका पानीका भाँडाहरुको ढक्कन लगाउने वा पानी जम्न नदिनु र लामखुट्टेको टोकाइबाट बच्नु उत्तम उपाय भएकोे डा।गौतमले बताए । एउटा लामखुट्टेले एक पटकमा ६० देखि एक सय ८० वटासम्म अण्डा पार्ने भएकोले यस्तो समयमा लगातार दुई हप्तासम्म सबै पोखरेलीहरुले आफ्नो घर र घरवरिपरि सरसफाई र पानी जम्न नदिने तथा लामखुट्टेको लार्भा भएको भए नष्ट पार्नुपर्ने उनले सुझाव दिएका छन् ।



पोखरा महानगरपालिकाको स्वास्थ्य विभाग, पोखरा महानगरपालिका वडा नम्बर ८ र ९, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय लगायतको टोलीले डेंगु सचेतना तथा खाली भाँडामा पानी जम्न नदिने गरी घर दैलो कार्यक्रममा जुटेका छन् । शनिबार पनि पोखराका विभिन्न ठाउँमा डेंगु सचेतना कार्यक्रम गरिएको पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले बताए ।

गत वर्ष असोज पहिलो सातामा भेटिएको डेंगु यस वर्ष भने साउन महिनाको तेश्रो सातामै पोखरामा भेटिएको हो । संक्रमणको धेरै जोखिम भएकोले यसमा सबैजना सचेत हुनुपर्ने समय आएको स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कट्रोल यम बरालले बताए । वर्षाको समय सकिएसँँगै हिउँदको समय सुरु हुने मौसममा सफा पानी कुनै खुल्ला भाँडामा धेरै दिनसम्म राख्नाले वा कुनै स्थानमा नबग्ने गरी सफा पानी भए पनि उक्त स्थानमा लामखुट्टेले धेरै फुल पार्न सक्ने बरालले बताए । बान्ता हुने, शरीर कमजोर हुने, खानामा रुचि नहुने, शारीरमा साना साना राता दाना हुने जस्ता लक्षण देखिनासाथ नजिकको अस्पतालमा उपचार गर्न जानुपर्छ ।

सम्बन्धित समाचार