नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ भदाै ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसले आफ्नो स्थापनाको ५९ औं वार्षिकोत्सव त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाको प्रमुख आतिथ्यमा मनाएको छ । क्याम्पस प्रमुख निर्मलाकुमारी सुवालको अध्यक्षतामा आयोजित कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिबाट दीप प्रज्ज्वलन गरी भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस कल्याण प्रमुख देवीप्रसाद घिमिरेले गरेका थिए भने क्याम्पस प्रमुख निर्मलाकुमारी सुवालबाट क्याम्पसका विविध गतिविधि तथा अबको रणनीतिका बारेमा सङ्क्षिप्त रूपमा जानकारी गराइएको थियो भने ह्युम्यानिटिज एण्ड सोसल साइन्स जर्नलका प्रधान सम्पादन बद्रीविशाल भट्टराईले जर्नलमा समावेश लेख–रचनाका बारेमा प्रकाश पारेका थिए ।
विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखिएको कार्यक्रममा स्नातक तह र स्नातकोत्तर तहमा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्राहरूलाई प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यसरी पुरस्कृत हुनेहरूमा स्नातकोत्तर तह (२०७४) तर्फ परीक्षा पौडेल (अर्थशास्त्र), सरिता मानन्धर (अङ्ग्रेजी), भानुभक्त नेपाल (नेपाली), केशवराज खड्का (समाजशास्त्र, मानवशास्त्र) र डोलनारायण श्रेष्ठ (जनसङ्ख्या अध्ययन) रहेका छन् ।
यसैगरी स्नातक तहतर्फ पुरस्कृत हुनेहरूमा स्नातक तहमा सर्वोकृष्ट हुन सफल मनीषा थापालाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने विष्णुबहादुर सिंह पुरस्कार प्रियंका भट्टराई (राजनीतिशास्त्रमा प्रथम) लाई, माधवचन्द्र शर्मा पुरस्कार पनि राजनीतिशास्त्रमा छात्राहरूबाट प्रथम प्रियंका भट्टराईलाई, डा. बिनुबाबा अर्याल पुरस्कार रानीतिशास्त्रमा राम्रो अङ्क ल्याउने नवीन पोख्रेललाई तथा डा. निर्मलाकुमारी सुवाल पुरस्कार भूगोलतर्फ प्रथम हुने नारायण बिसीलाई प्रदान गरिएको थियो ।
कार्यक्रमको संचालन हरिप्रसाद सिलवालले गरेका थिए ।