रवि लामिछानेको मोवाइलवाट अस्मिता र शालिकरामसँग टेलिफोनमा कुराकानी नभएको पुष्टि

पत्रकार शालिकराम पुडासैनी प्रकरणको छानबिन गरिरहेको प्रहरीले घटनाका विषयमा महत्वपूर्ण तथ्य फेला पारेको छ । शालिकराम पुडासैनीले आफुले २४ टेलिभिजन छोडिसकेपछि पनि रविको समुहले आफुलाई बारम्बार दबाब दिइरहेको भिडियोमा बताएका थिए । प्रहरीले गरेको अनुसन्धानमा अस्मिता कार्कीको मोबाइलमा ‘सिधा कुरा जनतासँग’को प्रसारण संस्था न्युज २४ को ल्याण्डलाइन नम्बरबाट पटक–पटक सम्पर्क भएको देखिएको छ। प्रहरीले पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको कल डिटेल हेर्दा यस्तो देखिएको हो ।

शालिकरामले न्युज २४ छोडिसकेको अवस्थामा समेत पटक पटक सम्पर्क भएको देखिएपछि प्रहरीले घटनालाई गम्भिरता पुर्वक लिएको छ । अस्मितासंग बढीमा ५ मिनेटसम्म कुराकानी गरेको कल डिटेलवाट देखिएको प्रहरील स्रोतले जनाएको छ ।



अनुसन्धानका क्रममा रवि लामिछानेको मोवाइलवाट भने अस्मिता वा शालिकरामसंग प्रत्यक्ष कुराकानी भएको देखिएको छैन । रविले आफु पनि मोवाइलवाट फोन नगर्ने र अरुको पनि नउठाउने गरेको बताइएको छ ।उनले सहयोगी मार्फत् मात्र मान्छेहरुसँग टेलिफोन कुराकानी गर्ने गरेका छन्।

प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएपछि रविले सरकारी वकील समक्ष दिएको बयानमा उनलाई लगाइएको सबै आरोप इन्कार गरेका छन् । उनले पुडासैनीको देहत्यागमा आफ्नो संलग्नता, योजना तथा सम्पर्क केही नरहेको उनको दाबी छ। उनले पुडासैनीले रेकर्ड गरेको भनिएको भिडियो पनि आफुले हेर्न नपाएको बताएका छन् । रवि लामिछाने पक्राउ परिसकेपछि पुडासैनीको भिडियो सार्वजनिक भएको थियो । रविले भिडियोका बारेमा साथीहरु मार्फत सुनेको भए पनि प्रत्यक्ष नहेरेको बताएका छन् । ‘घटनाकी केन्द्रीय पात्र भनिएकी रुकु भनिने अस्मिता कार्कीलाई म चिन्दिनँ। उनीसँग कुनै किसिमले सम्पर्क पनि गरेको छैन’, उनको बयानका क्रममा भनेका छन् ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भइसकेको छ। प्रहरीले यसअघि नै उनको मोबाइल सञ्चालन भएयताका सबै डाटा रिकभर गरिसकेको छ। पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी दीपक रेग्मी चितवनमै छन् ।

सम्बन्धित समाचार