चितवनमा डेङ्गु सङ्क्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा साउन ३१ गते चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको हो। मृतकको नाम गोप्य राखिएको छ।
सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो।
सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिए।
जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो छ। उनका अनुसार साउनयता भदौ ६ गतेसम्म जिल्लामा ५६७ जनाको परीक्षण गरिएकामा २२५ मा डेङ्गुको सङ्क्रमण भेटिएको छ।
तीमध्ये ४० प्रतिशत बिरामी भरतपुर महानर क्षेत्रका हुन्। डेङ्गु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियानसँगै जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको केसीले बताए।