सन्यास तोड्दै रायुडू, आइपिएल खेल्ने तयारी

विश्व कप खेल्ने भारतीय टिममा नपरेपछि सन्यासको घोषणा गरेका क्रिकेटर अम्बाती रायुडूले आइपिएल खेल्ने बताएका छन् ।

स्टार स्पोर्ट्ससँगको कुराकानीमा रायुडूले आइपिएलमा चेन्नई सुपरकिंग्सबाट खेल्ने बताएर आफ्नो सन्यास तोड्ने संकेत दिएका छन् ।



रायुडूले भने, म पक्कै पनि चेन्नईबाट आइपिएल खेल्ने छु । यसलाई मैले सेतो बल क्रिकेटमा पुनरागमनको रुपमा हेरेको छु । अहिले म आफ्नो फिटनेसलाई ध्यान दिएको छु । चेन्नई सुपर किंग्सले तपाइँलाई यस्तो महसुस गराउँछ कि त्यहाँ तपाईलाई जहिले पनि स्वागत रहेको छ ।

विश्वकपमा भारतीय टिममा चार नम्बरमा ब्याटिंग गर्ने खेलाडीको रुपमा छनौट हुनेमा ढुक्क रहेका रायुडू, उनको ठाउँमा विजय शंकर र पछि ऋषव पन्त छनौट भएपछि सन्यासको घोषणा गरेका थिए ।

सन्यासका बारेमा बोल्दै रायुडूले सन्यास लिनु कुनै भावुक निर्णय नभएको बताउँदै पछिल्लो चार बर्ष विश्वकपका लागि निकै मिहिनेत गरेको र टिममा नपर्दा निराश भएको प्रतिक्रिया दिए । उनले आफुसँग अझै समय रहेको र यसलाई आफुले एक एक कदम सोचेर निर्णय गर्ने बताए ।

रायुडूले भारतका लागि ५५ एकदिवसीय खेल खेल्दै ४७।०७ को अकुसतले १६९४ रन बनाएका छन् । जसमा उनले ३ शतक र १० अर्धशतक समेत बनाएका छन् । त्यस्तै ५ टी–२० खेलमा १०.५० को औसतले ४२ रन बनाएका छन् ।

सम्बन्धित समाचार