

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलहरुप्रति जनताको आस्था र विश्वास कम हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। नेपाल किसान सङ्घका केन्द्रीय सदस्य पूर्णकान्त पोख्रेलको १०औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका–५ को आयोजनामा आज लक्ष्मीपुरमा आयोजित शोकसभामा नेता पौडेलले बलियो सरकार भएको समयमा पनि दलहरुप्रति अविश्वास बढ्नु दुःखद भएको बताए ।
‘बढ्दो राजनीतिक अविश्वासलाई अन्त्य गर्न सबै दल सजग हुनु आवश्यक छ’, उनले भने । सरकारको काम कारवाहीका कारण जनतामा असन्तुष्टि देखा पर्न थालेको उनको आरोप थियो ।
वर्तमान सरकारको विकल्प काङ्ग्रेस भएको नेता पौडेलको भनाइ थियो । पोख्रेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उनले बताए ।
