उत्तर कोरियाले लगातार गरेका क्षेप्यास्त्र परीक्षणबाट जापान सतर्क हुन थालेको छ । जापानका रक्षामन्त्री ताकेशी इवायाले उत्तर कोरियाले जापानको ब्यालिस्टिक क्षेप्यास्त्र कवच भेदन गर्ने वारहेडहरू विकसित गरिरहेको पनि बताएका छन् ।
इवायाका अनुसार प्योङयाङका तफर्बबाट हालैका दिनमा गरिएका क्षेप्यास्त्र प्रक्षेपण छोटो दूरीका ब्यालिस्टिक मिसाइल भएको विश्वास गरिएको छ ।
क्षेप्यास्त्रहरू अनियमित मार्ग भएर समुद्रमा विसर्जन गरिएकोले जापान सतर्क भएको हो । तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यी प्रक्षेपणहरू महत्त्वपूर्ण नभएको प्रतिक्रिया दिएका छन् ।
शनिवार मात्र उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ । सिउलले टोकियोसँग सैन्य सूचना आदानप्रदान सम्झौता अन्त्य गरेको बताएको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण गरिएको हो ।