इन्शाअल्लाहमा सलमानको ठाउँमा शाहरुखको इन्ट्री

निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ बाट सलमान खान बाहिरिने भएपछि अर्का सुपर स्टार शाहरुख खानको इन्ट्री हुने सम्भावना बढेको छ ।

बलिवुड हंगामाका अनुसार निर्देशक भन्साली र शाहरुख खानबीच इन्शाअल्लाहको विषयमा छलफल भएको उल्लेख गरेको छ । रिपोर्टका अनुसार भन्साली र शाहरुखले बनाउने फिल्म इजहारलाई हाल स्थगित गरेर इन्शाअल्लाह बनाउने बारेमा छलफल भएको हो ।



शाहरुख इन्शाअल्लाहमा आएमा आलिया भट्ट र शाहरुखबीचको यो दोस्रो फिल्म हुने छ । यस अघि दुवै २०१६ मा डियर जिन्दगीमा सँगै काम गरेका थिए ।

भन्साली एक बर्षभन्दा बढी समयदेखि इन्शाअल्लाहको काम गरेकाले अहिले उनले यस फिल्मलाई धेरै समयसम्म रोकेर राख्न नसक्ने बताइएको छ ।

शाहरुख र भन्सालीले सन् २००२ मा बनेको फिल्म देवदासपछि कुनै फिल्ममा काम गरेका छैनन् । अब पछिल्लो घटनाक्रमपछि भन्सालीले शाहरुखलाई इन्शाअल्लाह वा इजहार कुन फिल्ममा निर्देशन गर्छन् सबैको कौतुहलताको विषय बनेको छ ।

यस अघि सलमान र निर्देशक संजय लीला भन्सालीबीच फिल्मको स्क्रिप्ट र पारिश्रमिकका विषयमा कुरा नमिलेपछि हाललाई सलमानले यो फिल्म नगर्ने भएका हुन् ।

साथै भन्सालीको तर्फबाट समेत अहिलेलाई फिल्मको शुटिंग बन्द गरिएको जानकारी दिइएको थियो । मिडिया रिपोर्टका अनुसार करिब १२० दिनको शुटिंगका लागि सलमानले सय करोड मागेको बताइएको छ । तर भन्सालीले भने फिल्मको बजेट नै १५० करोड भएकाले एक कलाकारलाई सय करोड दिएमा फिल्म बन्न नसक्ने तर्क गर्दै हाललाई फिल्मको शुटिंग रोक्ने निर्णय गरेको बताइएको छ ।

साथै सलमान र संजयबीच फिल्मको स्क्रिप्टका विषयमा पनि विवाद भएको बताइएको छ । सलमानले फिल्मको स्क्रिप्टमा केहि परिवर्तन गर्न खोजेको तर संजयले भने स्क्रिप्ट परिवर्तन गर्न नमानेको बताइएको छ । संजयका फिल्म बलिवुडमा सुपरहिट हुने हुनाले उनले कसैसँग आफ्नो स्क्रिप्ट र आइडिया बताउन र त्यसलाई परिवर्तन गर्न नमानेको बताइएको छ ।

त्यस्तै पछिल्लो दशक नै सुपरहिट फिल्म दिइरहेका सलमानले भने फिल्म निर्माणको प्रक्रियामा सहभागी भएर आफ्नै किसिमले काम गर्ने बानी भएकाले समस्या उत्पन्न भएको बलिवुडमा चर्चा चलेको छ ।

सम्बन्धित समाचार