

सञ्चारकर्मी रवि लामिछानेले अब थप प्रतिबद्ध र गम्भीर बनेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याएका छन् । उनले आफुहरुमाथि ठूलो षडयन्त्र भएको दोहोर्याउँदै जनताप्रतिको धर्म र मर्मलाई अगाडि राखेर काम गर्दा आइपर्ने समस्याको सामना गर्न आफु जहिले पनि तयार रहेको बताए ।
शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि बिहीबार बिहान कार्यस्थल न्यूज २४ टेलिभिजन फर्कँदै गर्दा सञ्चारकर्मी लामिछानेले मुलुक र जनताप्रति अझै प्रतिबद्ध र समर्पित बन्ने अठोट यो घटनाबाट पलाएको बताए ।
न्यूज २४ टेलिभिजनको प्रांगणमा न्यूज २४ कर्मीहरुले गरेको स्वागत ग्रहण गर्दै सञ्चारकर्मी लामिछाने आफुहरु पक्राउ परेपछि न्यूज २४ कर्मीहरुले देखाएको ऐक्यबद्धता र साथ अविष्मरणीय रहेको बताए ।
उनले आम जनताले गरेको विश्वासलाई धर्मराउन नदिने प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा झनै जिम्मेवार बनेर अघि बढ्ने बताए । उनले जनताप्रति सदैव समर्पित ‘सीधाकुरा जनतासंग’ कार्यक्रमका आगामी श्रृंखलाहरु पनि थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सञ्चारकर्मी लामिछानेसंगै पक्राउ परेका अर्का सञ्चारकर्मी युवराज कँडेलले विना दोषको सजाय भोग्नु पर्दा मन विचलित बनेको चर्चा गर्दै केही दिन भय र त्रासमा गुजारेको स्मरण गरे । उनले आफुहरुको गिरफ्तारी पछि न्यूज २४ का सहकर्मीहरुले केन्द्रदेखि जिल्लासम्म खेलेको भूमिका विर्सिनसक्नु रहेको उल्लेख गर्दै ‘सीधाकुरा जनतासंग’ कार्यक्रमप्रति अब थप जिम्मेवार र प्रतिबद्ध बन्ने भावना पलाएको बताए ।
सञ्चारकर्मीद्धय लामिछाने र कँडेलको स्वागत गर्दै न्यूज २४ टिभीका समाचार प्रमुख राजेन्द्रदेव आचार्यले सञ्चारकर्मी लामिछानेले उठाउनु भएको मुद्दाले उहाँसँग सिंगो टेलिभिजन स्थापित बनेको चर्चा गर्दै आम जनताले दिएको समर्थनको सम्मानमा सिंगो टेलिभिजन परिवार जुट्नु पर्ने बताए ।
बुधबार काठमाडौं विमानस्थलमा पनि बाजागाजासहित सञ्चारकर्मीद्वयलाई आफ्ना समर्थकहरूले स्वागत गरेका थिए । स्वस्फूर्तरुपमा निस्किएका र्यालीले ‘सत्यको जित भएको’ भन्दै नाचगान गरेर खुसीयाली साटासाट गरेका थिए ।
गत साउन २० गते चितवनको कंगारु होटेलमा मृत अवस्था फेला परेका शलिकराम पुडासैनीले आफ्नो आत्महत्यामा लामिछानेसहित कँडेल र कार्कीलाई दोषी रहेको आरोप लगाएका थिए ।
