

सरकारले स्वास्थ्य उपचारका क्रममा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यबीचको भिडियो कन्फ्ररेन्सलाई लिएर धेरै उत्तेजित नहुन सबैलाई आग्रह गरेको छ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भिडियो कन्फ्ररेन्स प्रविधिको उच्चतम् प्रयोग भएको भन्दै अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरे ।
“जे कुरा हुँदै भएको छैन, त्यसमा भ्रममा पर्न आवश्यक छैन । त्यो मन्त्रिपरिषद् बैठक होइन, कहाँबाट ‘क्याबिनेट’, ‘क्याबिनेट’ ‘क्याबिनेट’ भएर आयो, बुझ्न नसकिएन, सत्य एउटै मात्र हुन्छ”, उनले भने, “प्रधानमन्त्रीसँग विषयवस्तु आदानप्रदान गरिएको हो, कुनै निर्णय गरेनौं, हामी अवसरवादी बन्दैनौं र बन्न सक्दैनौं, देश र जनताप्रतिको दायित्व र अभिभाराप्रति सधैँ इमान्दार भइराख्छौं ।”
भिडियो कन्फ्ररेन्स जहाँबाट पनि हुनसक्ने उल्लेख गर्दै उनले यसलाई ठूलो कुरा र अनर्थका रुपमा नबुझिदिन आग्रह गरे । “दिल्ली, मस्को, अमेरिकाबाट पनि भिडियो कन्फ्ररेन्स हुन सक्छ”, उनले भने, “पहिलो प्रयास र अभ्यास हो, प्राविधिक रुपमा सक्षम छौं भन्ने प्रमाणित गरेको छ ।” आफूले भिडियो कन्फ्ररेन्स भएकै दिनसमेत सञ्चारकर्मीलाई सोबारेमा स्पष्ट पारेको उनले बताए ।
प्रमुख प्रतिपक्षी दललगायतले भिडियो कन्फ्ररेन्समा गोपनियता नहुने, राष्ट्रहित खण्डित हुने, सार्वजनिक सत्तामाथि प्रश्न उठ्ने भन्दै सरकरको चर्को आलोचना गरेका थिए । सङ्घीय संसद्मै पटकपटक सो विषयमा सरकारको धारणा माग गरिएको थियो ।
