चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको बच्चा जन्मियो

चितवन राष्ट्रिय निकुञ्जमा खुला खोरमा राखिएको एक अर्नाले बच्चा जन्माएको छ । यससँगै यहाँ अर्नाको सङ्ख्या १३ पुगेको छ । गत आर्थिक वर्षमा तीनवटा बच्चा जन्मिएका थिए । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार यही भदौ ९ गते अर्नाले बच्चा जन्माएको हो । पशु चिकित्सकले बाह्य शरीर हेरेर अन्य दुई अर्नाले पनि बच्चा जन्माउन सक्ने अनुमान गरेको ढकालले जानकारी दिए । सदर चिडियाखानाबाट तीन र कोशीटप्पुबाट १२ अर्ना ल्याइएको थियो । तीमध्ये छ मरेका छन् भने यससँगै चारवटा बच्चा जन्मिएका छन् । हाल खोरमा दुई भाले र सात पोथी छन् । शुक्लाफाँटाबाट सोही समयमा ल्याइएका सात बाह्रसिङ्गेमध्ये तीन मरेका र तीन बेपत्ता भएपछि एउटा मात्र खोरमा छ ।



हाल निकुञ्जभित्रको पुरानो पदमपुरमा २२ हेक्टर जमीनमा विद्युतीय पिसिसी मेस जालीसहितको तारबार गरेर अर्ना र बाह्रसिङ्गे राखिएको छ । सो ठाउँमा थप २५ हेक्टर क्षेत्रफल विस्तार गरी दुवै वन्यजन्तुको सङ्ख्या थप गर्ने तयारी गरिएको ढकालले बताए ।

सम्बन्धित समाचार