अमेरिकाको टेक्सासमा गोलीकाण्ड, ५ जनाको मृत्यु

अमेरिकाको टेक्सास राज्यमा भएको गोलीकाण्डमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

मिडल्यान्ड र ओडुसा शहरको बीचमा गुडिरहेको कारमा बसेका बन्दूकधारीले शुरूमा एक प्रहरीलाई गोली हानेका थिए ।



त्यसपछि बन्दूकधारीले अनेकौं गाडीवाल तथा बटुवाहरूलाई गोली हानेका थिए । एकचोटि भने उनले कारबाट निस्केर हुलाकको ट्रक चोरेर गोली हान्दै हिँडका थिए ।

उनलाई प्रहरीले एउटा सिनेमा कम्प्लेक्समा गोली हानेर मारेको थियो । श्वेत बन्दूकधारीको मकसद थाहा हुन सकेको छैन ।

चार हप्ताअघि मात्र एक बन्दूकधारीले टेक्सासकै एल पासोमा २२ जनाको हत्या गरेका थिए । पछिल्लो घटनामा भने २० जना मानिस घाइते भएका छन् र तीमध्ये तीनजना प्रहरी अधिकारी हुन् । सबैजनालाई गोली नलागेको अनि केही घाइतेलाई कारको शीशाले काटेको प्रहरीको भनाइ छ ।

ओडेसा मेडिकल सेन्टर अस्पतालले दुई वर्षमुनिका एक बालक पनि घाइतेमध्ये एक भएको बताएको छ । सातजना घाइतेको अवस्था गम्भीर छ ।

शनिवार दिउँसो ३ बजे यो घटना हुन शुरू भएको हो । टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीका अधिकारीहरूले मिडल्यान्ड राजमार्गमा एउटा गाडी रोके ।

त्यसपछि उक्त गाडीका चालकले अधिकारीहरूमाथि गोली चलाए अनि अन्यत्र गएर धेरै ठाउँमा मानिसहरूमाथि गोली चलाउन थाले ।

सम्बन्धित समाचार