एक जना सर्लाहीका साहुकारले एकपटक ऋण दिए पनि पटक–पटक ऋण दिएको भन्दै किर्ते कागज गराउँदै ठगेको भनेर सर्लाहीका विपन्न थारू र मधेसी समुदायका करिब एक सय ५० जनाको समूह न्याय खोज्दै काठमाडौं आएको छ । सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (श्याम प्रदेशी) ले सुरुमा दिएको ऋणको ब्याज बुझाउन जाँदा उल्टै अर्कोपटक ऋण दिएको नक्कली कागज बनाएर ठगेको उनीहरूको आरोप छ । एउटै मान्छेको नाममा ऋण दिइएको कानुनी कागज गर्न नमिल्ने भएकाले प्रदेशीले आफ्ना परिवारका सदस्यका नाममा ऋणीहरूलाई सातवटासम्म कागज गराएको उनीहरूले बताए ।
प्रदेशीका ऋणीहरूको समूहले राजनीतिक दलका नेता र मिडियामा पुगेर न्यायका लागि याचना गरेका छन् । पीडित समूहले प्रदेशीको ठगी र अत्याचारमा स्थानीय प्रशासन र अदालतले समेत सहयोग पुर्याएको आरोप लगाए । कानुनले तोकेभन्दा १० गुणासम्म बढी ब्याज तिराउने गरी झुक्याएर फरक–फरक साहुको नाममा कागज गराएर प्रदेशीले पैसा असुल्दै आएको पीडितहरूको दाबी छ । उनीहरूका अनुसार ०७२ को नाकाबन्दीपछि प्रदेशीबाट ऋण लिएका दुई सय ९९ जना यसरी ठगिएका छन् । पीडितहरूका अनुसार प्रदेशीले जिल्ला अदालत सर्लाहीमा हालेको मुद्दाबाट १९ जनालाई कैद सुनाइएको छ । करिब ५० जनाको नाममा मुद्दा चलिरहेको छ ।
एक सातायता उनीहरूले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेलसहित शीर्ष नेता र सांसदहरूलाई भेटेर प्रदेशीलाई कानुनी कठघरामा उभ्याई आफूहरूलाई न्याय दिलाउन ध्यानाकर्षणसमेत गराएका छन् । करिब एक महिनाअघि नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर उनीहरूले न्यायका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका थिए । पछिल्लोपटक प्रवक्ता श्रेष्ठले पीडितहरूलाई न्याय दिलाउने अभियानको नेतृत्व लिएका छन् ।
ऋण लिएका दुई सय ९९ जनामध्ये एक सय ५० जनाको समूहले रुक्मिणी चौधरीको नेतृत्वमा ‘श्याम प्रदेशी पीडित संघर्ष समिति’को नाममा संगठित भएर आन्दोलन सुरु गरेको छ । उनीहरूले ११ भदौबाट काठमाडौंको माइतीघर मण्डलामा संघर्ष सुरु गरेका छन् । प्रदेशीबाट एक करोड नौ लाख ५१ हजार लिएकोमा एक सय ५० जनाको समूहले अहिलेसम्म एक करोड ४७ लाख चार हजार विभिन्न समयमा बुझाइसकेको दाबी गरेको छ । तर, प्रदेशीले भने सात करोडभन्दा माथि दाबी गर्दै ७० जनाभन्दा बढीलाई ठगीमा अदालतमा मुद्दा दायर गरेका छन् । तीमध्ये तीनजना जेलमा परिसकेको पीडितहरूको भनाइ छ । कतिपयको घरवासै उठ्नेगरी परदेशीले जग्गा हडपेको, गरगहनै लुटिएको, झुक्याएर कागज गराई पैसा नबुझाउने महिलामाथि हातपात गरेर बलात्कारको प्रयास गरेको उनीहरूको आरोप छ ।
पीडित समूहले छानबिन आयोग बनाई विषयको सत्यतथ्य छानिबन गर्न, परदेशीमाथि किर्ते जालसाजी, ठगीलगायतको मुद्दा चलाउने व्यवस्था गर्न माग गरेको छ । त्यस्तै, ऋण लगानीको यति ठूलो रकम तथा प्रदेशीसहित उनका आफन्तको स्वामित्वमा रहेको जायजेथा खोजबिन गरी सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमार्फत कारबाही चलाउन पनि माग गरेको छ ।
ऋण तिर्न नसक्दा एकजनाले गरे आत्महत्या
ऋण तिर्न नसक्दा लालबन्दी ३ सिसुवाकी दुर्गादेवी चौधरीले आत्महत्या गरेकी छिन् । श्याम परदेशीले ब्याजको स्याज जोडेर चर्को रकम लिने कागज बनाएपछि चौधरीले आत्महत्या गरेको संघर्ष समितिको दाबी छ । यस्तै लालबन्दी–७ कै राजवीर चौधरी र सावित्री कापर उच्च प्रेसरले मृत्यु भए पनि ऋणकै कारण मृत्यु भएको दाबी गरेका छन् ।
प्रदेशीको ठगी शैली
विपन्न, निरक्षर र दलित समुदायलाई श्याम प्रदेशी भन्ने बित्तिकै ऋण दिन तयार हुन्छन् । तर अधिकांशलाई आफूले भनेअनुसारका कागजमा ल्याप्चे लगाउन लगाउँछन् र दोब्बर–तेब्बर रकम लेख्छन् ।
श्यामले आफ्नो नाम मात्र नभई छोरी इला, ज्वाइँ रामबाहु साह, छोरा सुजय र श्रीमती रन्जुले ऋण दिएको कागज तयार पारेका छन् । जिल्ला अदालत सर्लाहीले मात्रै प्रदेशी र उनको परिवारका सदस्यले दायर गरेको ५० वटा मुद्दामा पक्षमा फैसला गरिसकेको छ, ३५ भन्दा धेरै मुद्दा अदालतमै छन् । पीडितका अनुसार श्याम प्रदेशीको मिटरब्याजको पासोमा पर्नेहरूमा रौतहट, सर्लाही र महोत्तरीका स्थानीय छन् ।
प्रदेशीले सुरुमा ऋण दिँदा १ लाख दिए १० हजार र २ लाख दिए २० हजार ऋण दिएबापत भनेर कटाउँछन् । अनि ब्याजदर ३६ प्रतिशतसम्म तोक्छन् । एक दिन ब्याज तिर्न ढिला भए दैनिक १ हजारसम्म हर्जाना तिराउँछन् । साँवा तिरिसकेको बताएर कसैले थप रकम बुझाउन आनाकानी गर्यो भने सुरुमै गराएका विभिन्न कागजातका आधारमा अदालतमा मुद्दा दायर गर्छन् ।
त्यही कागजी खेललाई प्रमाण स्विकार्दै अदालतले उनीहरूलाई फिरादका लागि बोलाउँछ । निरक्षर र अदालती प्रक्रियाबारे सामान्य पनि जानकारी नभएका कैयन् ऋणी अदालतसम्म नपुग्दै उनीहरूको विपक्षमा फैसला भइसक्छ । कैयनलाई त फैसलाकै आधारमा प्रहरीले पक्राउ पुर्जीसमेत जारी गर्छ । श्यामको मिटरब्याजको पासोमा परेका सर्लाही लालबन्दी नगरपालिका–४, करैयाका सोनपी चौधरीले पक्राउ पुर्जी पाउनेको संख्या मात्रै दुई दर्जनभन्दा धेरै हुने बताए । अदालती आदेशको भरमा पक्राउ पुर्जी जारी भएपछि पछिल्ला दुई वर्षयता भाग्दै लुक्दै हिँडेका उनले सुनाए, ‘दर्जनौंले अदालत र प्रहरीको डरमा घरगाउँ छोडेर हिँडेका छन् ।’