अफगानस्तानमा बम विष्फोट : नेपालीसहित १६ जनाको मृत्यु !

दक्षिण एसियाली मुलुक अफगानिस्तानमा समयसमयमा विष्फोटका घटनाहरु भइरहेका हुन्छन् । राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा विष्फोट हुँदा २ जना नेपालीसहित कम्तीमा १६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले दावा गरेका छन् ।

यो घटनामा १ सय १९ जना घाइते भएका छन् । यस घटनामा परी ज्यान गुमाउनेहरुमा चितवन घर भएका कृष्ण थापा र रोल्पा घर भएका चन्द्र पुन रहेका छन् ।



तर गार्दा वर्ल्ड तथा दिल्लीस्थित नेपाली दूतावास कुनैले पनि मृतकको परिवारलाई औपचारिक जानकारी गराएका छैनन् । थापा र पुन दुवैको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत भएको भनिएको छ । घाइतेमा कोही पनि नेपाली नरहेको स्पष्ट भएको छ ।

विष्फोटको समयमा करिब ११८ जना नेपाली र केही नेपालीभाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा तैनाथ भएका थिए । यस घटनामा परी १२ जना अफगानी र २ जना अर्को देशका सुरक्षा गार्डको पनि ज्यान गएको छ ।

उनीहरुका अनुसार बाहिरी पोस्टमा विष्फोट गराएर ४–५ जना तालिबानी क्याम्प भित्र प्रवेश गरी अन्धाधुन्द गोलीबारी गरेर भागेका थिए । विष्फोटका लागि ट्रक नै प्रयोग गरिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हमलाको जिम्मा तालिवान समूहले लिएको छ । उसले विदेशी सैनिकलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । २०७३ असार ६ गते काबुलमै नेपाली सुरक्षा गार्ड सवार मिनिबसमा बम विष्फोट हुँदा १४ नेपालीले ज्यान गुमाएका थिए ।

सम्बन्धित समाचार