झापामा एक भारतीय नागरिकले आफ्नै शरीरमा आगो लगाएर बिहीबार अपराह्न आत्मदाह गरेका छन्। अर्जुनधारा–६ मा रहेको एक फर्निचर उद्योगमा कार्यरत मजदुरले आफ्नै शरीरमा तार्पिनको तेल र स्प्रिट खन्याई आगो लगाएर आत्मदाह गरेका हुन्।
भारतको पश्चिम बंगालस्थित पानीट्यांकी बस्ने २३ वर्षीय विश्वनाथ बरमनले फर्निचर उद्योगको ट्वाइलेटमा पसी आगो लगाई आत्मदाह गरेको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए।
प्रदीप गिरीले सञ्चालन गरेको फर्निचर उद्योगमा कार्यरत उनले ट्वाइलेटको ढोका बन्द गरी शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ। बिहीबार अपराह्न स्थानीयबासीले आगो लागेर उनको मृत्यु भएको जानकारी गराएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरेको जनाएको छ। उनले आत्मदाह गर्नुपर्ने कारण भने खुलेको छैन।