संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राजनीतिक सहकार्य र सहमतिबाट अघि बढ्नुको विकल्प नभएको बताएका छन् । ताप्लेजुङ सरोकार समाज काठमाडौंले आज आयोजना गरेको ‘१४औँ स्थापना दिवस तथा साधारणसभा’मा उनले आपसमा मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।
आफूले मन्त्री नियुक्त भएपछि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री भट्टराईले राजनीतिक दल मिलेर जानुपर्नेमा जोड दिए । अग्रजका भोगाइ र अनुभवबाट सिक्न पार्टीका वरिष्ठ नेता तथा प्रमुख प्रतिपक्ष दलका नेतालाई भेटेको उनको भनाइ थियो ।
सरकारका साना कमजोरीलाई ठूलो बनाउन तथा उपलब्धिलाई लुकाउन खोजिएकाले त्यसतर्फ सजग बन्नुपर्ने मन्त्री भट्टराईले बताए । “देशभर ४० हजार जनप्रतिनिधि गणतन्त्रलाई संस्थागत गर्न लागिपरेका छन्”, उनले भने ।
कार्यक्रममा समाजका सल्लाहकार भरतबहादुर थेबेले समाजका सदस्य काठमाडौं बसेर पनि ताप्लेजुङको विकासमा लागिपरेको बताए । उपाध्यक्ष टंक श्रेष्ठले समाजले वर्षेनी विभिन्न क्षेत्रमा रही योगदान पुर्याउँदै आएका ताप्लेजुङवासीलाई सम्मान गर्दै आएको बताए । समाजले सन् २०१८ मा कञ्चनजङ्घा हिमाल आरोहण गरेका विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।