एउटा सकारात्मक थालनी

नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीहरूबाट नेपाल भारत इन्धन पाइपलाइनको संयुक्त रूपमा उद्घाटन गर्नु एउटा महत्वपूर्ण कार्यको थालनी हो । यसले दुई देशका बीच एउटा उदाहरणीय सहसम्बन्धको विकास हुन थालेको सङ्केत गरेको मात्र छैन, भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धलाई नयाँ ढङ्गबाट व्याख्या गर्न चाहेको पनि अनुमान गर्न सकिन्छ ।

नेपाल र भारतका जनताबीच जति धेरै घनिष्ठ सम्बन्ध छ तर सरकारी स्तरमा त्यति नै धेरै समस्या र गुनासाहरू पनि विद्यमान छन् । कतिपय मुद्दाहरू वषौंंदेखि थाती रहेका अवस्थामा छन् । पछिल्लो कडीका रूपमा नेपाल भारत प्रबुद्ध समूहले लामो समय लगाएर तयार पारेको प्रतिवेदनलाई लिन सकिन्छ । यस प्रतिवेदनले उठाएका कतिपय सन्दर्भहरू भारतीय नेतृत्वको रूचि अनुसार नभएका कारण प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्रीलाई समय अनुकूल नभइरहेको कूटनीतिक वृत्तमा अनुमान गरिएको छ । नेपाललाई हेर्ने भारतीय दृष्टिकोणमा परिवर्तन हुन-गर्न लागिएको हो भने नेपालले यस अवसरको लाभ उठाउन कूटनीतिक पहल गरी थाती रहेका यस्ता विषयहरूको निरुपण गराउन अहम् भूमिका खेल्न सक्नु पर्दछ ।



दशैंको पूर्वसन्ध्यामा भएको नेपाल भारत इन्धन पाइपलाइनको उद्घाटन नेपालको विकासलाई दीर्घकालसम्म प्रभाव पार्ने एउटा महत्वपूर्ण विषय हो । भारतबाट इन्धन ढुवानी गर्दा हुने अनेकन व्यवधानलाई चिर्दै निर्वाध रूपमा इन्धन आउने अवस्था सिर्जना हुने कुराले नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि कम महत्व राख्तैन । पाइपलाइनले दुई देशलाई जोडेजस्तै अब दुई देशका शीर्ष नेताहरूको मन पनि जोडिनुपर्छ । नेतृत्व तहको मन जोडिन सकेन भने पाइपलाइन टुट्न धेरै समय लाग्दैन । दुई देशको पारस्परिक हितलाई ध्यामा राखेर गरिएको सम्बन्ध मात्र दीर्धकालीन हुन्छ । कुनै कूटनीति स्वार्थपूर्तिका लागि मात्र जोडिएको सम्बन्धको आयु अल्पकालीन मात्र हुने गर्दछ ।

एउटा भूपरिवेष्टित मुलुकले प्रयोग गर्न पाउने कतियप सुविधाहरू नेपालले अझै निर्बाध रूपमा प्रयोग गर्न पाइरहेको छैन भने नेपाली उत्पादनलाई भारत पैठारी गर्न अनेकन व्यावधानहरू विद्यमान छन् । भारतसँग नेपालको ठूलो व्यापार घाटा रहेको छ । अब यस्ता विषयहरूको सम्बोधन र न्युनीकरणको पहल गर्न पनि आवश्यक छ । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला यी विषयहरूको सम्बोधन हुन आवश्यक छ । यसका लागि नेपालले पनि आफ्नो कूटनीतिक चातुर्यता देखाउन सक्नुपर्छ ।

चीन नेपालको अर्को विशाल छिमेकी मुलुक हो । विकास र समृद्धिले चीनले अमेरिकालाई उछिन्न लागिसकेको छ । भाषिक र सांस्कृतिक फरकपनले गर्दा मात्र नेपाली जतनालाई चीन भारतभन्दा केही टाढाजस्तो लागे पनि नेपालले चीनबाट पनि धेरै कुरा सिक्न र व्यावसायिक लाभ उठाउन सक्छ । पछिल्लो समयमा चीनबाट पनि नेपाललाई प्राथमिकतामा राखेर आफ्नो सक्रियता बढाएको अनुमान गरिंदैछ ।

चीनबाट नेपालको हितमा केही महत्वपूर्ण कार्य गराउने यो सही समय हो । यही बेला चीनबाट पनि पाइपलाइनमा नै भए पनि इन्धन ल्याउने पहल गरिनुपर्छ । नेपाल–चीन नाकाहरू सहज गरिनुपर्छ । भारतले उचित कारण विना नै लगाएको नाकाबन्दीको पीडा नेपाली मनहरूमा अझ ताजै छ । एउटा मुलुकमा अत्याधिक भरपर्दा हुनसक्ने सम्भावित खतराबाट पनि नेपाल सचेत हुन जरुरी छ । यस अवस्थामा भारतसँग सम्बन्ध सुमधुर बनाउने बहानामा चीनलाई चिड्याउने खेल खेल्नु हुन्न । सम्भावित चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका अवसरमा नेपालले सन्तुलिन कूटनीतिक चाल चल्न सक्नुपर्छ । कूटनैतिक सन्तुलन मिलाउन सकिएन भने त्यसको दुष्परिणाम् नेपालले नै भोग्ने हो ।।

सम्बन्धित समाचार