राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभमा फिर्ता पठाएको विधेयक पुनः संघीय संसदको प्रतिनिधिसभामा पेश हुने भएको छ। प्रमाणिकरणका लागि आफूकहाँ पुगेको ‘राहदानी विधेयक, २०७५’ लाई राष्ट्रपति भण्डारीले सन्देशसहित गत जेठ २६ गते फिर्ता पठाएकी थिइन्।
राहदानी विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको बैठकमा पेश गरिने भएको छ। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त विधेयक पेश गर्ने र त्यसलगत्तै पारित गरियोस् भनेर प्रस्ताव गर्ने संसद सचिवालयले जानकारी दिएको छ।
राहदानी विधेयकका विवाद समाधान नभइकनै र राष्ट्रियसभाले संशोधन गरेका विषय समावेश नगरी उक्त विधेयकलाई प्रमाणिकरका लागि सभामुख कृष्णबहादुर महराले गत वैशाख २५ गते राष्ट्रपतिकहाँ पठाएका थिए। उक्त विधेयकमा केही विषय विवादित रहेका र राष्ट्रियसभाले गरेका काम संलग्न नगरिएको भन्दै सार्वजनिक रूपमा र संसदमा बहस भएको थियो।
त्यसपछि राष्ट्रिपतिले विधेयकलाई लिएर विभिन्न व्यक्तिसँग परामर्श गरेकी थिइन्। राष्ट्रपतिले राष्ट्रियसभा सदस्यद्वय रामनारायण बिडारी र राधेश्याम अधिकारीसँग परामर्श गरेपछि विधेयक फिर्ता गरिदिएकी थिइन्। यसरी फिर्ता भएको विधेयक पुनः प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिकहाँ जाने व्यवस्था छ।