शिक्षा सुधार गर्न आन्तरिक शिक्षक सरूवा सुरू, छिटै प्रधानाध्यापकहरूको पनि सरूवा गरिने

झापाको हल्दिवारी गाउँपालिकाले शिक्षामा आमूल परिवर्तन गर्ने भन्दै गाउँपालिका अन्तरविद्यालय शिक्षक सरूवा सुरू गरेको जनाएको छ ।

४० औं शिक्षा दिवसको अवसरमा गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्गदेनले सामुदायिक विद्यालय सुधार गर्न गाउँपालिका कडा रूपमा प्रस्तुत हुने बताएको ३ दिन नबित्दै १३ जना शिक्षकलाई सरूवा गरिएको हो ।



हल्दिवारी गाउँपालिकाको २३ भदौमा बसेको बैठकले गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समिति अध्यक्ष डम्बरबहादुर गिरि, प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे र शिक्षा शाखा प्रमुख रामबहादुर दाहाल रहेको समिति गठन गर्दै अन्तरविद्यालय शिक्षक सरूवा सुरू गरेको समिति संयोजक तथा उपाध्यक्ष गिरिले जानकारी दिएका छन् ।

उपाध्यक्ष गिरिका अनुसार गाउँपालिका शिक्षा नियमावली २०७५ को नियम ५७ मा सामुदायिक विद्यालयका शिक्षकलाई अन्तरविद्यालय सरूवा गर्ने प्रावधान अनुसार शिक्षकको सरूवा गरिएको हो ।

हल्दिवारी गाउँपालिका प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार यहाँका सामुदायिक विद्यालयहरूलाई सुधार गरी जिल्लाकै नमुना विद्यालय बनाउन प्रध्यानाध्यापक छ्नोट सम्बन्धी कार्यविधि बनाई क्षमतावान शिक्षकहरूबाट प्रतिस्पर्धात्मक परीक्षा गरी प्रविधि मैत्री हुने गरी प्रधान अध्यापक छनोटको व्यवस्था छिटै सुरू गर्न लागिएको हो ।

सम्बन्धित समाचार