नवराज घिमिरे
काठमाडौं, २७ भदाै ।
नेपाली काङ्ग्रेसले पहिलो चरणको जनजागरण कार्यक्रमका उपलब्धिको निर्मम समीक्षा नगरी पुनः देशव्यापी रूपमा दोस्रोचरणको जनजागरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यो आफैंमा विरोधाभासपूर्ण छ । चारतारे झण्डा र बीपी कोइरालाको फोटो टाँस्दैमा र केही कार्यकर्तालाई मैदानमा उभ्याउँदैमा जनजागरण भएको मान्न सकिन्न । जागरण अन्तरचेतनाको पुकार हो । नेतृत्वको बोली, व्यवहार र सन्देशले श्रोताको मन र मस्तिष्क तरङ्गित हुनुपर्छ, अन्तरचेतना जाग्रित हुनुपर्छ र श्रोताको व्यवहारमा परिवर्तन आउनुपर्छ । यदि श्रोताको व्यवहारमा परिवर्तन आएन भने त्यो जागरण होइन, चौतारीमा गरिने सामान्य गफ मात्र सीमित हुनेछ । त्यसैले पनि विषयको गाम्भीर्यता नबुझी गाउँ पस्नु ‘काम पाइनस् बुहारी, पोख्तै उठाउँदै’ मात्र हो ।
मेरो विचारमा अहिलेको आवश्यकता भनेको जनजागरणको होइन । नेपाली काङ्ग्रेसको उन्नति र प्रगतिका लागि ‘जनतामा जागरण हैन कि काङ्ग्रेसी नेतृत्वमा जागरण’ हुनु आवश्यक छ । समस्या मतदाताको तहमा वा कार्यकर्ताको तहमा भन्दा नेतृत्व तहमा नै बढी देखिन्छ ।
जनता र कार्यकर्ता त सधैं जागृत अवस्थामा नै छन् । जिल्ला तहदेखि केन्द्रीय तहसम्मका नेताहरूको दम्भ र मपाइँत्वले पार्टी मात्र होइन जनविश्वासको आधार पनि कमजोर बनेको छ । इमान्दार कार्यकर्ताको आग्रह र निवेदनलाई नेतृत्वले बेवास्ता गरेका कारण नेपाली काङ्ग्रेसको यो दुर्दशा भएको हो । जब जब नेपाली काङ्ग्रेसको नेतृत्वले श्रृङ्लाबद्ध रूपमा गम्भीर गल्तीहरू दोहो¥याउँदै गएको छ, तब तब जनता र कार्यकार्ताले पनि नेपाली काङ्ग्रेसलाई ठूलो सजाय दिएका छन्; सत्ताच्युत गरिदिएका छन् । यसर्थ जनताको नाममा जनतामाथि नै अपमानपूर्वक व्यवहार गर्दै र जनविश्वासलाई लत्याउँदै जनजागरणको नाममा गाउँ गाउँ कुद्नुभन्दा आफ्नै नेतृत्व क्षमता र कामप्रतिको निर्मम मूल्याङ्कन गरी आफैंलाई सुधार्नु आजको आवश्यकता हो ।
तीसौं वर्षदेखि नेतृत्वमा हामी तिनै पुराना अनुहारहरू मात्र देखिरहेका छौं । हिजो भर्भराउँदो अवस्थामा देखिने ती अनुहारहरू आज बोटबाट झरेर कुहिन लागेको फलझै विरूप देखिन थालेका छन् तैपनि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सोच उनीहरूमा देखिंदैन । समस्या यहाँ छ ।
नेतृत्वले कहिल्यै आफुलाई समयसापेक्ष अपडेट गर्ने प्रयास गरेन । न उनीहरूमा अध्ययनको आदत छ, न त उनीहरू देश, काल र परिस्थितिबारे सहज विश्लेषण गर्ने क्षमता नै राख्दछन् । फगत ‘म नै ठीक हुँ’ र ‘मैले भनेको नै हुनुपर्छ’ भन्ने अहङ्कारमा विलिप्त नेतृत्व आफुलाई नै सर्वज्ञ, सर्वश्रेष्ठ र निर्विकल्प सावित गर्ने प्रयास गरिरहेछ । कुरा परिवर्तनका गरे पनि उनीहरू स्वयम्को मानसिकतामा भने कुनै परिवर्तन आएको देखिएन । अबको पुस्ता र अहिलेको समयको मागलाई अपरिस्कृत र अपरिमार्जित मानसिकताबाट नेतृत्व गर्न सम्भव छैन । नेतृत्व गर्नु र सफल नेतृत्व गर्नु फरक कुरा हुन् । त्यसैले पनि नेतृत्व तहमा नै मनजागरणको अभियान चलाउन आवश्यक छ ।
नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेका व्यक्तित्वहरूको मानसिकतालाई विश्लेषण गरेर डा. जुगल भुर्तेलले कुनै एउटा पत्रिकामा लेख लेख्तै भनेका छन् ‘यदि कुनै काङ्ग्रेसजन अझै पार्टीको शीर्षासनमा विराजमानहरूबाटै काङ्ग्रेसले पुनर्जीवन पाउने आशा गरिरहेको छ भने ऊ बिपीको अवसानअघि नै निदाएको कुम्भकर्ण मात्र हुन सक्छ ।’ यस भनाइभित्रको मर्मको विश्लेषण गर्नुृ पनि आजको आवश्यकता हो ।
नेतृत्व कार्यकर्ताका अघि जाँदा देखाउने विलासी र राजसी शैली पनि समस्याको विषय हो । उनीहरूले न कुनै व्यवसाय गरेका छन् न कुनै उद्योग नै, फेरि कहाँबाट आयो यत्रो बैभव ? पहिलाका राजा महाराजाले देखाउन नसकेको शान र सोख देखाउने हैसियत कहाँबाट पाए उनीहरूले ? विज्ञान प्रविधिको विकास, सामाजिक सञ्जालको प्रयोग र चेतनाले जिज्ञासु बनेका कार्यकर्तालाई मूर्ख ठान्ने दुस्साहस नगरे हुन्छ अब । बरू यी र यस्ता प्रश्नको जवाफ नखोजी जनतामा जाँदा जनताले उल्टै लोपारी दिन सक्नेछन् । पहिलो जनजागरण कार्यक्रममा नै कति नेताहरूलाई कार्यकर्ताले गम्भीर प्रश्न सोधेका थिए । तैपनि नेतृत्वले ती प्रश्नहरूको समयोचित जवाफ खोज्न चिन्तन गरेको देखिंदैन । समस्या यहाँ छ ।
त्यसैले केही आशेपासे र भजनमण्डलीले गरेको स्तुति गानमा नै मख्ख पर्ने नेतृत्वलाई नै प्रशिक्षणको खाँचो छ, जनजागरणको भन्दा मनजागरणको खाँचो छ । प्रायोजित भजनमण्डलीबाट अनुहार छोपिने गरी माला पहिरिएर फेसबुकमा फोटो टाँस्तैमा संगठन विस्तार हुँदैन । उनीहरूको अशोभनीय शैली र व्यवहार देखेर नेपाली काङ्गे्रसप्रति अलिअलि सद्भाव राख्ने मतदाताहरू पनि झन बढी निराश बन्न सक्ने सम्भावना छ । नयाँ महाराजाको शैलीमा जनता र कार्यकर्ताका बीच जाँदा त्यसले सकारात्मकभन्दा नकारात्मक प्रभाव पार्ने भएकोले जनताका बीच जाने शैली र लाने एजेण्डाका बारेमा गम्भीर हुन अत्यावश्यक छ ।
जनजागरणको अगुवाई गर्ने नेतासँग जनजागरणका लागि आयोजित कार्यक्रममा लाने नयाँ कुरा के छ ? निराश कार्यकर्तामा रक्त सञ्चार गराउने कुरा के छ उनीहरूसँग ? के छ त उनीहरूसँग आन्तरिक किचलोलाई पुष्टि गर्ने तर्कहरू ? केके छन् त उनीहरूसँग एउटा प्रतिपक्षी दलका रूपमा जनताका पक्षमा उठाएका उल्लेखनीय कुराहरू ? जसले सत्तामा रहँदा नै नेपाली जनताको मन जित्ने केही कार्य गर्न सकेन, प्रतिपक्षमा रहेर के गर्न नै सामथ्र्य राख्छ र ? तैपनि यस्ता प्रश्नहरूको निरूपण नगरी जनजागरणमा जानु भनेको जनतालाई मूर्ख र आफूलाई सर्वज्ञ ठान्नु मात्र हो ।
त्यसैले अहिलेको काङ्ग्रेसी नेतृत्वले जनता सामु वा कार्यकता सामु अब धेरै नाटक मञ्चन नगरे हुन्छ । इतिहासमा केही योगदान गरेको भए पनि वर्तममानमा उनीहरू रित्ता भइसकेका छन् । समयसँगै कार्यकर्ताको मन, आवश्यकता र भूमिकामा पनि परिवर्तन भइसकेको छ । यो बदलिँदो आवश्यकतालाई सम्बोधन गर्न सक्ने हैसियत गुमाइसकेको नेतृत्वले नेतृत्वमा बसिरहनुभन्दा यथाशीघ्र नेतृत्व हस्तान्तरण गर्नु नै ठूला बुद्धिमानी हुनेछ र यो नै बीपी कोइरालाप्रति सच्चा सम्मान पनि हुने छ ।