

रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।
बिहीबार राति घरमाथिबाट गएको पहिरोमा पुरिएर एकै घरका ६ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा २५ वर्षीय थीरकुमार बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३५ वर्षीय जै बुढा, उनकी ३५ वर्षीय श्रीमती मूलज्योति बुढा, ९ वर्षीय छोरी जीविस्टी बुढा र २ वर्षीया छोरी करिस्मा बुढा छन् ।
थवाङ गाउँपालिका–२ की वडासदस्य अभिलासा रोका मगरले मृतक ६ जनाकै शव बाहिर निकालिएको जानकारी दिइन् ।
घरमाथिबाट आएको पहिरोले बाख्राको खोर र गाई गोठ पनि पुरेको वडासदस्य मगले जानकारी दिइन् ।
‘घरभन्दा करिब २०० मिटर माथिबाट आएको पहिरोले घरसँगै बाख्राको खोर र गाईको गोठ पनि पुरेको छ,’ वडासदस्य मगरले भनिन्, ‘अन्य घरमा भने क्षति पुर्याएको छैन ।’
स्थानीय शहीद मार्गलाई विस्तार गर्न केही दिन अगाडि मात्रै खनिएको ठाउँबाट पहिरो गएको वडा सदस्य मगरले जानकारी दिइन् ।
‘शहीद मार्ग विस्तारका लागि केही दिन अगाडि मात्रै यहाँ खनिएको थियो । डाँडो खनेर थुपारिएको माटो बगेर पहिरो गएको देखिन्छ,’ वडासदस्य मगरले भनिन् ।

