श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ष विष्टले सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न निजी विद्यालयलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), काठमाडौँको आयोजनामा आज राजधानीमा आयोजित विद्यालय, शिक्षक र विद्यार्थी सम्मान कार्यक्रममा उनले सरकारले सहज ढङ्गले वातावरण निर्माण गरेकाले जतिसक्दो छिटो सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको औपचारिक घोषणा गर्न आग्रह गरे ।
मन्त्री विष्टले भने, “फेरि कतैबाट कठिनाइ उत्पन्न भयो भने सरकारको काम कानूनको पालना गराउने नै हो, नियम सङ्गत भएको छ की छैन, बैंक खातामार्फत भुक्तानी भएको छ की छैन, त्यो माग्नु सरकराको कर्तव्य हो, सरकार त्यसतर्फ प्रवेश गर्न नपरोस् ।”
उनले एकाध सञ्चारमाध्यममा सामाजिक सुरक्षा योजनामा जानुनपर्ने गरी लेख पढेकाले त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जानकारी दिँदै कानूनको पालनालाई चुनौती दिने गरी यस्ता लेख आए भने सबैभन्दा पहिला त्यही ठाउँ मै ध्यानाकर्षित गर्ने छौँ, सकेसम्म त्यहाँसम्म पुग्न बाध्य नबनाइयोस् भने ।
मन्त्री विष्टले केही समस्या भए समाधानका लागि सरकारकोतर्फबाट हदैसम्म लचकता अपनाउँदै आएको बताउँदै सरकारले विद्यालयहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरण गर्न असोज मसान्तसम्मको समय सीमा तोकेको जानकारी गराए ।
विद्यालयका शिक्षक, कर्मचारीलाई राहत मिल्ने भएकाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको र कुनै पनि कार्यक्रम शुरुआत गर्दा केही कठिनाइ हुने उल्लेख गर्दै उनले युरोप, अमेरिकालगायत विकसित देशमा लागू भएको उक्त कार्यक्रमले वृद्ध अवस्थामा कसैले पनि अभाव झेल्नु नपरेको बताए।
मन्त्री विष्टले विद्यालयको स्वस्थ्य विकासका लागि र विद्यालयको जनशक्तिको मर्यादित जीवन तथा आत्मसम्मान र उत्पादकत्व वृद्धिका लागि यो कार्यक्रम आएकाले गम्भीर भएर कार्यान्वयनमा ल्याउन विद्यालय सञ्चालकहरुलाई आग्रह गरे ।