वायुसेवा कम्पनीले १० प्रतिशत छुट दिने

नजिकिएको दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । वायु सेवा सञ्चालक सङ्घको आजको बैठकले दशैँका अवसरमा आगामी असोज १२ देखि कात्तिक १७ गतेसम्म उडानमा यात्रुलाई छुट दिने निर्णय गरेको हो ।

नियमित उडान सञ्चालन गर्ने सदस्य वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे समान्य हवाई भाडा मूल्यमा यात्रुलाई १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विमानस्थल कर र इन्धनको मूल्यमा बाहेक वायुसेवा कम्पनीले लिने सामान्य भाडामा यस्तो छुट दिन लागिएको हो । वायुसेवा कम्पनीले पछिल्लो समय धमाधम जहाज भित्र्याइरहेकाले आवश्यकताअनुसार हवाई टिकट उपलब्ध हुने कम्पनीको दाबी छ ।



आन्तरिक उडान गर्ने ठूला कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले क्रमशः जहाज थपेका छन् । बुद्धले शनिबार मात्रै जहाज थपेर सङ्ख्या १३ पुर्याएको छ । यती एयरलाइन्सले दुई साताअघि एटिआर जहाज भित्र्याएको थियो । श्रीले पनि हालै जहाज थपेको छ । सीताएयरले थप जहाज ल्याउने तयारी गरेको छ ।

हरेक वर्ष महत्वपूर्ण चाडपर्वका बेला यात्रुले टिकट नपाएर सास्ती बेहोर्दै आएका छन् । यात्रुको चापअनुसार उडान सङ्ख्या थप्ने पनि वायुसेवा कम्पनीको योजना छ । आन्तरिक उडानमा १० हेलिकप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

सम्बन्धित समाचार