विप्लव नेकपाको गोप्य कार्यालयमा प्रहरीको छापा, हतियारसहित महत्वपूर्ण दस्तावेज बरामद

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ । बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको हो ।

सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा तीन जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन् ।



पछिल्लो एक महिनामा झापामा भएका विष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ । यो गिरफ्तारीसँगै समूहको झापा जिल्ला समितिका अध्यक्षबाहेक अधिकांश समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका एक अधिकृतका अनुसार उनीहरुबाट बरामद कागजपत्रले समूहको थप योजनाबारे पनि प्रस्ट पारेको छ ।

सम्बन्धित समाचार