परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अहिले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको बताएका छन् । पूर्व सांसद मञ्चद्वारा आज यहाँ आयोजित ‘विश्व अवस्था र भविष्यको नेपाल’ विषयक कार्यशालामा उनले लगानीमैत्री कानून, उपयुक्त भू–बनावट र सहजरूपमा श्रमिक उपलब्धताले नेपालमा लगानी गर्न सुवर्ण अवसर प्रदान गरेको उल्लेख गरे ।
परराष्ट्रमन्त्री ज्ञवालीले भने, “विश्वको दोस्रो र छैटौँ ठूलो अर्थतन्त्र भएका चीन र भारत छिमेकमा रहेको हुँदा लगानीकर्ताका लागि बजारको कुनै समस्या छैन, नेपालमा लगानी गरेर पर्याप्त मुनाफा आर्जन गर्नसक्ने वातावरणसमेत सिर्जना भएको छ, शान्ति र समृद्ध नेपाल छिमेकी देशका लागि पनि हितमा छ ।”
लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा वैदेशिक लगानीका क्षेत्र र लगानीको अवस्थाबारेमा जानकारी दिए । नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपाल–जापानबीचको घनिष्ठ सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे।
नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक विभाग प्रमुख क्लिन्टोन टाड ब्राउनले नेपालले अङ्गिकार गरेको लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, मानवीय सहायता र विपद् व्यवस्थानका क्षेत्रमा अमेरिकाले सहयोग गर्दै आएको बताए ।