नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असाेज ।
राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई चिनियाँ सरकारले महत्वको साथ हेरेको पाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले पनि भ्रमणको तयारी थालेको छ । सीको नेपाल भ्रमणको तयारीस्वरूप चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओ नेपाल आउँदैछन् ।
उनी ४ असोजमा काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालय सम्बद्ध स्रोतले बताएको छ । सोङ चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका निम्ति आउन लागेको अधिकारीहरूले बताएका छन् । चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
सन् २०११ मा चीनको उपविदेशमन्त्री भइसकेका सोङ हाल चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य छन् । यसअघि २२ भदौमा पनि चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए ।
यीले भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटवार्ता गरेका थिए ।