स्वास्थ्यमन्त्रीको भ्रमण मोह : वर्षमा कति पटक विदेश उडे ?

देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साता अघि भारत गएका उनले ६ दिन उतै बिताए ।

अस्पतालहरूमा अहिले डेंगुसँगै स्क्रबटाइफस लगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्य मन्त्री यादव भने फेरि विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।



देश डेंगु र इक्रबटाइफस, जिका र चिकनगुनियाको उच्च जोखिममा परेका बेला त्यसलाई बेवास्ता गर्दै स्वास्थ्यमन्त्री यादव बुधबार १४ दिनका लागि अमेरिका भ्रमणमा जाने तय भएको छ । उनलाई देशमा फैलिएका विभिन्न रोगबाट नागरिकको स्वास्थ्य जोखिमका परेकाप्रति कुनै प्रवाह नरहेको र केवल विदेश सयरमा मात्र ध्यान रहेको मन्त्रालयका उच्च अधिकारीको गुनासो छ ।

मन्त्रालयका सहसचिवस्तरका कर्मचारी सहभागी भए हुने कार्यक्रममा पनि मन्त्री यादव आफैं जाने गरेको स्रोतको भनाइ छ । मन्त्री बने यता पटकपटक विदेश गएकाले उनलाई ‘डुलुवामन्त्री’ भनेर पनि चिन्छन् मन्त्रालयका कर्मचारी । मन्त्रालय स्रोतका अनुसार एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश भ्रमणमा गएका छन् ।

सम्बन्धित समाचार