२१ वर्षपछि बन्ने भो संसद भवन, प्रधानमन्त्रीद्वारा शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको पुतलीबगैँचामा नयाँ संघीय संसदभवनको शिलान्यास गरेका छन् । २०५५ सालदेखि नयाँ भवनको योजना बन्दै थन्किँदै गरेको थियो । सिंहदरबारको पुतली बगैंचामा बन्न लागेको संघीय संसद् भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् ।

आफ्नै भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २०६४ सालदेखि भाडा तिरेर संसद् भवनका रूपमा प्रयोग गरिँदै आइएको छ ।



नयाँ भवन नेपाली कलात्मक शैलीको हुने डिजाइनमा छ । निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले गत जेठमा ग्लोबल टेन्डर आह्वान गरेको थियो । एक सय ७३ रोपनी ८ आना अर्थात् ८८ हजार २ सय ७१ वर्गमिटर ओगट्ने उक्त भवनको निर्माण ‘हाइटेक’ इन्जिनियरिङ डिजाइन प्रविधिमा आधारित हुनेछ ।

तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको भवनमा ‘संघीय संसद् भवन परिसर नाम’ दिइएको उक्त स्थानलाई विशेषगरी भवन, हरियाली, पार्किङ र सडक पूर्वाधार क्षेत्रमा विभाजन गरिएको छ । परिसरमा भवनले २७ र खुला हरियाली क्षेत्रले ४५ प्रतिशत ओगट्नेछ । उक्त भवन ‘स्टेट अफ आर्ट’ को एउटा नमुना हुने बताइएको छ ।

देशकै ठूलो र अत्याधुनिक भवनमा युगअनुसारको प्रविधि र सुविधा उपलब्ध हुनेछ । उनले भने । परिसरमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, संसदीय दल र संसदीय समितिको कार्यालय, संसद् सचिवालय, अतिविशिष्ट व्यक्तिको भवन, ‘लबी’, सुरक्षा भवन, पुस्तकालय, चमेनागृह, प्रेस तथा छपाइ भवन, पार्किङ स्थललगायतका संरचना निर्माण हुनेछन् ।

टेन्डर प्रक्रियामा समावेश भएकामध्ये ललितपुरको चिनियाँ र नेपालीको साझा कम्पनी जेभी तुँदी–एसएचईसीले निर्माणको ठेक्का पाउने लगभग निश्चित छ । टेन्डर प्रक्रियामा समावेश भएकामध्ये प्राविधिक र आर्थिक मूल्यांकनपछि उक्त कम्पनीको नाममा आशयपत्रको सूचना मंगलबार प्रकाशित भइसकेको छ ।

उक्त कम्पनीले मूल्यअभिवृद्धि कर (भ्याटबाहेक) ५ अर्ब २ करोडमा निर्माण गर्ने प्रस्ताव गरेको छ । भवन विभागले भ्याटबाहेक करिब ७ अर्बको लागत अनुमान गरेको थियो । उक्त कम्पनीले लागत अनुमानभन्दा २ अर्ब कममा ठेक्का सकारेको छ ।

प्रस्ताव पेस गरेका १७ कम्पनीमध्ये प्राविधिक मूल्यांकनमा उचित ठहरिएका १० लाई पूर्वयोग्यता छनोट सूचीमा राखिएको थियो । नेपालका कुनै पनि कम्पनीले एकल प्रस्ताव गरेका थिएनन् । चिनियाँले एकल र संयुक्त गरी ८ वटा प्रस्ताव पेस गरेका थिए । भारतीय कम्पनीले नेपालीसँग संयुक्त र एकलगरी २ वटा प्रस्ताव पेस गरेका थिए ।

सम्बन्धित समाचार