स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगुको प्रकोपको विषयमा प्रतिनिधिसभामा जानकारी गराएका छन्। केही समययता मुलुकभर फैलिएको डेंगुको यथार्थ अवस्था अवगत गराउन सांसदहरुले माग गर्दै आएका थिए।
स्वास्थ्यमन्त्री यादवले भदौ २३ गतेसम्मको जानकारी अनुसार ५ हजार ९५ जनालाई संक्रमित भएको बताए। हालसम्म ६ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ, उनले भने।
यादवले डेंगुको नियन्त्रण सम्पूर्ण विश्वकै लागि चुनौतीको रुपमा देखिएको बताउँदै विश्वका धेरै देशको तथ्यांक प्रस्तुत गरेका थिए। बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइन्छ, उनले भने, १२८ मुलुकका ३.९ अर्ब मानिस जोखिमको क्षेत्रमा छन् ।
यो रोग नेपालको मात्रै समस्या होइन, उनले भने, साधन स्रोतले सम्पन्न मुलुका लागि पनि यो रोग रोकथाममा चुनौती छ।
उनले नेपालमा अन्य मुलुकको तुलनामा डेंगुका कारण मृत्युदर अत्यन्त न्यून मात्रै रहेकाले आपतकालीन अवस्थाको घोषणा गर्नुपर्ने हदमा नरहेको बताए। लामखुट्टेबाट सर्ने अन्य रोगलाई सरकारले उल्लेखनीय प्रगति गरेको उनले विवरण सुनाए।
कुनै बेला बर्सेनि हजारौंलाई लाग्ने र सयौंको मृत्युको कारण बनेको मलेरियाको संक्रमण नेपालमा ४५० को हाराहारीमा झरेको छ भने मृत्यु शून्यमा छ, उनले भने।
डेंगुबाट बच्न हालसम्म कुनै पनि निर्दिष्ट औषधि अथवा पूर्ण प्रभावकारी खोप नभएकाले नियन्त्रण गर्न नसकिएको पनि उनले बताए।
विगतमा डेंगु संक्रमित भएको जिल्लामा लामखुट्टेको लार्भा निर्मूल पार्ने योजना सञ्चालन गरिएको, जनचेतना फैलाइएको, अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको उनले जानकारी गराए।
उनले स्वास्थ्य मन्त्रालयले तीनै तहका सम्पूर्ण सरोकारवालाहरुसँग निरन्तर समन्वय र सहकार्य गर्दै आएको भन्दै डेंगु प्रकोप नियन्त्रणका लागि आवश्यक सम्पूर्ण कदम चालिने बताए। प्रभावित क्षेत्रमा “सबैको साथ, डेंगुको नाश, हप्ताको एक दिन एक घन्टा हुँदैन कुनै कष्ट, सबैको सहभागितामा लामखुट्टेको लार्भा नष्ट” नाराका साथ घरदैलो अभियान सञ्चालन गरिएको उनको भनाइ थियो।
उनले जनमानसमा रहेको त्रासलाई कम गर्न सूचनाको ट्र्याक गरिने योजना पनि सुनाए।