टेक्सास र लुजियानास्थित सामुन्द्रिक तटीय क्षेत्रभन्दा एक किलोमिटर गहिराईमा एक गुफा छ, जहाँ अमेरिकाले संकटकालिन स्थितिका लागि लाखौं ब्यारेल तेल भण्डारण गर्ने गरेको छ ।
विश्वभरबाट जम्मा गरिएको कच्चा तेल अमेरिकाले यही गुफामा पु(याउँछ र बर्षौं बर्षसम्म संरक्षित गरेर राख्ने गर्छ । लाखौं ब्यारेल कच्चा तेल भण्डारण भएको यो गुफा अमेरिकाको रणनीतिक पेट्रोलियम सञ्चिती केन्द्र हो ।
विश्वमै यो भन्दा ठूलो तेल भण्डार अन्यत्र छैन । यो तेल भण्डारको महत्व यो पटक फेरि देखिएको छ । साउदी अरबको तेल भण्डारमा यमनी हुथी बिद्रोहीहरुले ड्रोन हमला गरेपछि पैदा भएको तेल संकटलाई टाल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबार यही तेल भण्डार प्रयोग गर्न स्वीकृति दिएका थिए । अमेरिकी इतिहासमा चौथो पटक यो गुफामा राखिएको तेल प्रयोगमा ल्याइएको हो ।
ट्रम्पले विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए–’साउदी अरबमाथि हमला भएपश्चात तेलको उपलब्धतामा जुन संकट देखिएको छ, त्यसलाई मध्यनजर गर्दै मैले आवश्यकताबमोजिम रणनीतिक तेल भण्डारबाट तेल निकाल्ने आदेश दिएको छु । बजारलाई सन्तुलनमा राख्न पुग्ने तेल निकाल्न र आपूर्तिलाई सहज बनाउन यहाँबाट आवश्यकताअनुसार तेल निकाल्न सकिन्छ ।’
सन् १९७३ को अक्टुबरमा सिरिया र मिश्रले इजरायलका विरुद्ध प्रत्यक्ष युद्ध लडेका थिए । यो युद्धमा इजरायललाई अमेरिका र नेदरल्याण्डजस्ता दोस्रा मुलुकहरुले सहयोग गरेका थिए ।
यसको जवाफमा अरब देशहरुले पश्चिमी मुलुकमा निर्यात हुने तेलको मात्रा कटौती गर्ने फैसला गरे । यो युद्ध तीन सातासम्म मात्रै चलेपनि प्रतिबन्ध भने सन् १९७४ को मार्चसम्म नै जारी रहेको थियो ।
यो प्रतिबन्धका कारण विश्वभर तेलको मूल्य झण्डै चारगुणाले बढेको थियो । त्यतिखेर प्रतिब्यारेल तेलको मूल्य ३ अमेरिकी डलरबाट करिब १२ अमेरिकी डलरसम्म पुगेको थियो ।
इतिहासकारहरुले यसलाई विश्वकै पहिलो तेल संकटका रुपमा व्याख्या गर्ने गरेका छन् । युद्धका कारण सृजित तेल संकटका कारण विश्वको अर्थव्यवस्था नै नराम्ररी प्रभावित भएको थियो ।
यो संकटबाट अमेरिका पनि अछुतो रहेन । द्वितीय विश्वयुद्धपछि जहाँ नयाँ शहरहरु बनेका थिए, त्यहाको जनजीवन अस्तव्यस्त बन्दै गएको थियो । ग्यास स्टेशनबाहिर लाखौं मानिसहरु लाईन लाग्नुपर्ने अवस्था निम्तियो । सस्तो इन्धनमा निर्भर अमेरिकाका अधिकांश उद्योगहरुमा खतरा देखिन थाल्यो ।
यसपछिका निकै बर्षसम्म पनि सो तेल संकटको प्रभाव निमिट्यान्न भईसकेको थिएन । सन् १९७५ को क्रिसमसभन्दा तीन दिन पहिलो अमेरिकाका तत्कालिन राष्ट्रपति जेरल्ड फोर्डले अमेरिकाका लागि कच्चा तेलको पहिलो आपतकालिन भण्डारण केन्द्र बनाउने कानूनमा हस्ताक्षर गरे ।
सो कानून बनेलगत्तै अमेरिकाले यो रणनीतिक भण्डारण बनाउन थाल्यो । अमेरिकी राष्ट्रपतिसँग मात्रै यो गुफामा तेल सञ्चित गर्न र उपयोगको इजाजत दिने अधिकार छ ।