संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जना व्यक्तिहरुको सजाय माफ भएको छ ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियममावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासहित २ सय ६० जना कैदीहरुको भुक्तनी हुन बाँकी कैदको सजाय कट्टा गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा रामकिशोर साह तेलीसहित २२ जना व्यक्तिहरुलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गरिएको छ ।