गायिका आनी छोइङ डोल्माको बैंक खातामा रहेको १९ करोड रुपैयाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ । उनको मेगा बैंकमा रहेको खाता नम्बर ००१००५००३९४२४ मा गत २६, २७ र २८ वैशाखमा हङकङबाट डलर आएको थियो ।
२६ गते पाँच लाख ७९ हजार नौ सय ८०, २७ गते पाँच लाख ३९ हजार नौ सय ८० र २८ गते पाँच लाख २९ हजार नौ सय ८० अमेरिकन डलर आएको थियो । सो रकम शंकास्पद भएको भन्दै खाता रोक्का राखेर अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो ।
गायिका डोल्माले विभिन्न सामाजिक कामका लागि आफूलाई विदेशबाट डलर प्राप्त भएको बताए पनि स्रोत खुलाउन सकेकी छैनन् । आर्य–तारा फाउन्डेसन, आर्य–तारा स्कुललगायत संस्थामार्फत उनले सामाजिक काम गर्दै आएकी छिन् । तर, सहयोगमार्फत पैसा ल्याउँदा पनि उनले प्रक्रिया पूरा नगरेको विभागका अधिकारीहरू बताउँछन् । विभागले उनलाई पठाउने हङकङको बैंकसँग पैसाको स्रोत खोजेको थियो । ‘जवाफ आएको छैन, जवाफपछि थप अनुसन्धान अघि बढ्नेछ,’ विभागका एक अनुसन्धान अधिकृतले भने ।
विगतमा पनि आनीको खातामा त्यसैगरी पटक–पटक विदेशबाट ठूलो परिमाणमा पैसा आएको विभागको अनुसन्धानबाट खुलेको छ । त्यसरी आएको पैसा उनले संस्थामै खर्च गरेको देखिएको छ । यसपटक एकैपटक धेरै आएपछि छानबिन थालिएको हो । तर, छानबिन नसकिँदै अनावश्यक दबाब आएको विभागका कर्मचारीहरू बताउँछन् । स्रोतका अनुसार प्रधानमन्त्रीनिकट व्यक्तिहरूले नै उनको पैसा रोक्का फुकाउन दबाब दिइरहेका छन् ।