चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः गृहमन्त्रीलाई सुरक्षाको चिन्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङको असोज अन्तिम साता हुने भनिएको संभावित भ्रमणको सुरक्षा व्यवस्थापनका लागि गृहमन्त्री रामबहादुर थापा (बादल)ले सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गरेका छन्। आइतबार नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग भएको ‘गोप्य भेटवार्ता’पछि गृहमन्त्री थापाले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका हुन् ।

गृहमन्त्री थापाले बोलाएको बैठकमा नेपाली सेनाका उच्च अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी थिए । गृह मन्त्रालय स्रोतका अनुसार बैठकमा राष्ट्रपति सीको सम्भावित भ्रमण केन्द्रित सुरक्षा रणनीतिका विषयमा छलफल भएको छ ।



बैठकमा गृहसचिव प्रेमकुमार राई पनि सहभागी थिए । चिनियाँ राष्ट्रपति सीले असोज अन्तिम साता नेपालको भ्रमण गर्ने जनाइएको छ ।

राष्ट्रपति सीको भ्रमण र सुरक्षा व्यवस्थापनको विषयलाई लिएर नेपालका लागि चिनियाँ राजदूत यान्छी आइतबार गृहमन्त्री बादललाई भेटेकी थिइन् । राजदूत यान्छीसँगको भेटवार्ता पछि गृहमन्त्रीले आकस्मिक सुरक्षा बैठक बोलाएर राष्ट्रपति सीको संभावित भ्रमणको तयारी र सुरक्षा रणनीतिको प्रारम्भिक तयारीबारे छलफल गरेका हुन् ।

सम्बन्धित समाचार