किन पूर्व र दक्षिणतर्फ नै सिरानी बनाइन्छ ?

शास्त्रले भन्छ :

प्राक्शिरे शयने विद्या हानिमृत्युतथोत्तरे ।
पश्चिमे प्रबले चिन्ता धनआयुश्च दक्षिणे ।।



अर्थात् पूर्वतर्फ सिरानी बनाएर सुत्दा विद्या बढ्छ, उत्तर सिरान बनाउँदा हानि वा मृत्युसमान कष्ट हुन्छ, पश्चिमतर्फ सिरान बनाउँदा अत्यधिक चिन्ता हुन्छ भने दक्षिण सिरानी बनाएर सुत्दा धन र आयु वृद्धि हुन्छ ।

शास्त्रले यसो भने पनि अहिले धेरैलाई यस्ता कुरा बेकार लाग्छन् । उनीहरू यसलाई अर्थहीन बकवास ठान्छन् । यद्यपि हाम्रा पितापुर्खाले भन्दै र अनुशरण गर्दै आए, ओछ्यान बनाउँदा सदैव पूर्व वा दक्षिण दिशातर्फ नै सिरानी बनाएर सुते ।

दक्षिण, उत्तर, पश्चिम, पूर्व जता सिरान बनाए पनि के हुन्छ र रु कसैलाई मतलब भएन । किनभने अहिलेकालाई लाग्यो यी कुरा अन्धविश्वास हुन्, पुरातन रुढी हुन्, तुक नभएका धारणा हुन् । यस्तै मानसिकता कारण अहिलेका पुस्ताले सुत्नका लागि कसरी र कस्तो अवस्था अपनाउने भन्ने कुराको पालना गरेनन् । तापनि बूढापाकाले भन्न छाडेनन्– सिरानी जहिल्यै पूर्व वा दक्षिणतर्फ नै बनाउनुपर्छ ।

आज यही विषयमा चर्चा गर्न र यसको वैज्ञानिक पक्ष केलाउन खोजिएको छ । खासमा राम्रो स्वास्थ्यका लागि पौष्टिक आहार, योग ध्यानका साथसाथै नियमित दिनचर्या पनि जरुरी छ । दिनचर्यामा सही समयमा उठ्ने र सुत्ने तालिका तथा राम्रो निद्रा पनि पर्छ । अतः अनुभवहरूको सारका रूपमा आएका शास्त्रलाई अपनाउँदा हानि हुने देखिँदैन ।

हाम्रा हरेक धार्मिक मान्यता एवं शास्त्रीय कुरामा वैज्ञानिक अर्थ एवं रहस्य पनि लुकेजस्तै सुताइको सवालमा पनि यो कुरा लागू हुन्छ । अर्थात् सिरानी कुन दिशामा लगाउने वा कता टाउको फर्काएर सुत्ने भन्ने कुरामा पनि वैज्ञानिक कारण छ ।

वैज्ञानिक पक्ष

पृथ्वीमा चुम्बकीय तत्व हुन्छ । यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकीय तरंग प्रवाहित भइरहेको हुन्छ । जब हामी दक्षिणतर्फ शिर अर्थात् टाउको राखेर सुत्छौं, तब यी ऊर्जा हाम्रो शरीरमा प्रवेश गर्छन् र खुट्टाबाट निस्किएर बाहिर जान्छन् । यही कारण बिहान उठ्दा मानिसले ताजगी महसुस गर्छन् ।

तर, उत्तरतर्फ टाउको फर्काएर सुत्यौँ भने हाम्रो शरीरमा विपरीत ढंगले चुम्बकीय तरंग प्रवाहित हुन्छ । ऊर्जा खुट्टाबाट प्रवेश गरेर टाउकोबाट निस्कन्छ । यसको साइडइफेक्टस्वरूप हामीलाई मानसिक एवं शारीरिक समस्या हुन्छ । यस्तो सुताइ अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्याका साथै उच्च रक्तचापको कारण बन्छ । त्यसैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नुपर्छ ।

सिरानी कता बनाउने भन्ने कुरा पृथ्वीको चुम्बकीय अवस्थितिलाई आधार मानेर तय गरिएको हो । कुन दिशातर्फ सिरानी बनाउँदा सही हुन्छ र कुन दिशा गलत हुन्छ भन्ने कुरा यसैले निर्धारण गर्छ । पूर्वी दिशामा पनि सिरानी बनाएर सुत्न सकिन्छ । यसले पनि स्वास्थ्य एवं मानसिकतामा राम्रो प्रभाव पार्छ । जब कि सूर्योदय हुने स्थानतिर खुट्टा फर्काएर सुत्दा त्यसको प्रभाव प्रतिकूल देखा पर्छ अर्थात् पश्चिमतर्फ सिरानी पारेर सुत्नु राम्रो हुँदैन ।

शरीर विज्ञान पनि बुझौँ

हाम्रो मुटु शरीरको तल्लो आधा भागमा छैन, त्यो तीन चौथाइ माथिल्लो भागमा छ । यस्तो किन छ त रु किनभने गुरुत्वाकर्षणको कारण मुटुले रक्त प्रवाह गराउँदा शरीरको तल्लो भागभन्दा माथिल्लो भागमा बढी गाह्रो हुने गर्छ । त्यसैले मुटुभन्दा तलको भागमा रक्त प्रवाह हुने धमनीभन्दा मुटुबाट माथि रक्त प्रवाह गर्ने धमनी बढी परिष्कृत हुन्छ । माथिल्लो भागमा रगत प्रवाह गराउँदा त्यो अत्यन्तै सानो सिरामा हुन्छ, अर्थात कपालको रौं बराबर । त्यसमा अतिरिक्त रगतको बुँद थपियो भने, त्यो फुटेर रक्तश्राव हुनसक्छ ।

धेरैजसो मान्छेको मस्तिष्कमा रक्तश्राव हुन्छ । यसले खासै ठूलो हानि गरिरहेको हुँदैन, तर सामान्य असर भने गरिरहेकै हुन्छ । ३५ वर्षपछि मान्छेको स्मरणशक्ति वा ग्रहण गर्ने क्षमतामा ह्रास आउनुमा पनि यही कारण हुनसक्छ ।

हाम्रो शरीरमा रगतसँग जोडिएको एनीमिया वा रक्तअल्पताजस्ता कुनै समस्या छन् भने चिकित्सकले आइरन चक्की सेवन गर्नुपर्ने सुझाव दिन्छन् ।

पृथ्वीको चुम्बकीय क्षेत्र अर्थात् म्याग्नेटिक फिल्डको बारेमा धेरैलाई थाहा नै छ । पृथ्वीमा चुम्बकीय शक्ति शक्तिशाली हुन्छन् ।

हामी उत्तर दिशातर्फ टाउको बनाएर सुत्यौँ भने वा लगातार यस्तै अवस्थामा ६–७ घण्टा बितायौँ भने, चुम्बकीय आकर्षणको दबाव हाम्रो दिमागमा पर्छ । यसले टाउकाको रक्तप्रवाहमा पनि पूरै प्रभाव पार्छ । चुम्बकीय आकर्षणको कारण टाउकोमा बढी रक्तश्राव हुन्छ, त्यही कारण मानिस उत्तेजित भएर उठ्छ । अर्थात् निद्रा बीचमै भंग हुन्छ ।

यस किसिमको प्रभाव कति र कस्तो हुन्छ भन्ने कुराचाहिँ व्यक्तिअनुसार फरक पर्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने यसको असर बढी हुन्छ ।

सुताइको कुरा

वर्तमान समयमा विश्वमै अनिद्राको समस्या छ । धेरैको निद्रा खल्बलिएको छ । यसो हुनुमा मानिसको खराब जीवनशैली, दिनचर्या, खानपान, वातावरण एवं चिन्तन मूल कारण हो । हामीले हाम्रा पितापुर्खाले अभ्यास गर्दै आएका तौरतरिकाहरू पालना गरेको भए यस्तो समस्या नहुन सक्थ्यो ।

–शास्त्रले त राति सुत्नेबेलामा र विहान उठ्नेबित्तिकै पनि मन्त्रोच्चारण गर्ने सुझाउ दिएको छ । विहान उठेर जमिनमा गोडा टेक्नुअघि पृथ्वीसँग यसरी क्षमा माग्नू भनेको छ–

समुद्रवसने देवी पर्वतस्तनमण्डले । विष्णुपत्नीनमस्तुभ्यं पादस्पर्श क्षमस्व मे ।।

–विज्ञानले भन्छ– जब बिहान उठिन्छ, दायाँतर्फ घुम्नुहोस् र विछ्यौनाबाट बाहिर आउनुहोस् । किनभने निद्राबाट उठ्नसाथ मेटाबोलिक प्रक्रिया एकदम सुस्त हुन्छ । यस्तो अवस्थामा अचानक ओछ्यान छाड्दा मुटुमा दबाब पर्छ ।

–उठ्नसाथ हात दुवै हात आपसमा रगड्नुहोस् । यसले गर्दा शरीरका सबै नाडी सक्रिय हुन्छन् ।

–उठ्नासाथ मन्द मुस्कुराउने अभ्यास गर्नुपर्छ । किनभने हरेक बिहान हाम्रो निम्ति नयाँ जीवन हो ।

सुत्ने स्थान र सुताइ कस्तो हुनुपर्छ :

-सुत्ने ओछ्यान सही दिशामा सही ढंगले राखेको हुनुपर्छ ।
-शयन कक्षा शान्त, खुला हावा आउजाउ गर्ने हुनुपर्छ ।
-नियमित तालिका अनुसार सुत्ने र उठ्ने गर्नुपर्छ ।
-खाना खाए लगत्तै सुत्नु हुँदैन ।
-सुत्नुअघि मनलाई शान्त बनाउनुपर्छ । व्यावहारिक कुराहरू मनमा खेलाउनु हुँदैन ।
-राती चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाउनुपर्छ ।
-कम्तीमा सात वा आठ घन्टा मस्तले निदाउनुपर्छ ।

सम्बन्धित समाचार