इन्डोनेशियाको जाम्बी प्रान्तको आकाश अचानक रातो भयो । सामाजिक संजालमा रातो आकाश सहित फोटो र भिडियो अहिले भाइरल भैरहेको छ । खामा जाम्बी प्रान्तको जंगलमा लागेको ठुलो आगोका कारण अहिले सो क्षेत्रको आकाश रातो भएको हो ।
इन्डोनेसियाका जंगलमा हरेक बर्ष जसो हुने यस्ता आगलागीले सिंगो पूर्वी एशियालाई नै प्रभावित गर्ने गर्दछ ।
मौसम वैज्ञानिकहरुका अनुसार प्रकाशका किरण टुट्दा आकाशले यस्तो असामान्य रंग बदल्ने बताएका छन् ।
बिबिसीले उल्लेख गरेअनुसार जाम्बी प्रान्तको मेकर गाउँका २१ बर्षिय युवा एका वुलनडारीले फेसबुकमा शनिबार अपराहन्न खुनले लत्पतिएको जस्तो रगताम्य भएको आकाशको तस्वीर पोष्ट गरे । सो पोस्टलाई फेसबुकमा ३४ हजार भन्दा बढी पटक सेयर भएको छ ।
शुरुमा यस्तो तस्वीर फेक भएको भनिएको भएपनि पछि भिडियो र तस्वीर हेरेपछि सही भएको बिबिसीले उल्लेख गरेको छ ।
इन्डोनेशियाका मौसम विज्ञ हौर्ले सो क्षेत्रमा कैयौ हट स्पट र एक मोटो धुँवाको लर्को देखिएको बताएका छन् । सिंगापुर विश्व विद्यालयका सामाजिक विज्ञानका प्रोफेसर टीह योंगले आकाशको रंग त्यति बेला बदलिन्छ जब धुँवामा रहेका केहि कणहरुमा प्रकाश पर्छ । उनले धुँवामा हुने धेरै जसो कण १ माइक्रोमिटरका हुन्छन, जसले हामीले देख्ने प्रकाशको रंग बदलिदिन्छन् ।
केही कण त्यो भन्दा पनि साना हुन्छन्, जसले धुवाँ धेरै हुँदा आकाशको रंग बदलिदिने गर्दछन् । इन्डोनेसियाको यो तस्वीर दिउसोमा लिइएको र यति बेला सुर्य ठिक माथि हुने हुनाले पनि आकाशको रंग बढी रातो देखिएको उनको बुझाइ छ ।