उद्धव सिलवाल
काठमाडौं, ८ असाेज ।
घटस्थापना आउन चारदिन मात्रै बाँकी रहेको छ तर बजारमा बेथितिले संघार नाघिसकेको छ । ब्यापारीको आफुखुसी मुल्य निर्धारण गर्ने परीपाटी पुनः हावी हुन थालेको छ । आम नागरिक यही बेला किनमेलको चटारोमा रहेका छन् ।
बालबच्चाहरूको दशैंमा नयाँ लुगादेखि अन्य सरसामनको माग अधिक हुने गर्छ । अनि उनीहरूकै माग थेग्नको लागि अभिभावकहरू जसरी पनि किनमेल गर्नेपर्ने बाध्यतमा रहेको फाइदा उठाउदै सर्वसाधारणसँग बढि मुल्य लिने समुह हावी हुन थालेका छन् ।
दशैंको चहलपहल सुरु भएसँगै लत्ताकपडा, जिरामरिचलगायत हरेक मालवस्तुको भाउ अकारण थेगी नसक्नु गरी उकालो लागेको छ । अझ त्यसमा पनि दिनहुँ खरिद गर्ने तरकारीको भाउ त सतप्रतिशत भन्दा बढी महँगो भएको छ । ताजा बजार मूल्यअनुसार तरकारी खरिद गर्न सक्ने अवस्था अब आम उपभोक्तासँग रहेको छैन । एक-डेढ सातामा प्रतिकिलोमै ५०÷६० रूपैयासम्म मूल्यवृद्धि भएको छ । प्याज काट्दा मात्र आउने आँसु अब सबै वस्तु किन्दाखेरी त्यसरी नै आँसु आउने अवस्था स्थापित भएको छ । प्रतिकिलो ३५ रूपैयाँ हाराहारीमा पाइने प्याज अहिले प्रतिकलो खुद्रा मूल्यमै १०५ रूपियाँसम्म पुगिसकेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार एक-डेढ सातामै बजार उच्च भएको हो ।
प्रत्येक वर्ष जस्तै यो वर्ष पनि चाडपर्व सुरु भएपछि पहिलेकै रवैंया पुन आरम्भ भएको देखिन्छ, नत्र यतिखेर बजार भाउ बढ्ने कुनै कारण देखिदैन । नाफाखोरीको करण मुल्य नियन्त्रणभन्दा बाहिर गएको आभास बजारले देखाएको छ । बिचौलियाको चलखेल पछिल्लो समय हावी हुँदै गएको छ । नियन्त्रण गर्ने निकाय मौन बस्दा त्यस्ता बिचौलियाको मनोबल उच्च हुन पुगेको हो ।
किसानले प्रतिकेजी कुनै वस्तुको मूल्यमा पाँच रूपैयाँ वृद्धि गर्दा बिचौलियाले पाँच गुणासम्म मूल्य बढाउने गरेका छन् । बजार अनुगमन प्रणाली प्रभावकारी नहुँदा बिचौलियालाई भाउवृद्धिमा सहजता थपिएको आभास आम नागरिकले गर्न थालेका छन् । अधिकांश उपभोग्य वस्तुको बजार मूल्य त्यस्ता बिचौलियाको कब्जामा रहेको देखिन्छ । राजनीतिक पहुँच, दादागिरी र गुण्डागिरी बिचौलियाको मुख्य आधारको रूपमा रहेका छन् । कानुनमा २० प्रतिशतभन्दा बढी नाफा लिनुलाई कालोबजारी मानिन्छ । हाम्रो बजार प्रणालीमा धेरै कम वस्तुको मात्र २० प्रतिशतभन्दा कम मूल्य अन्तरमा मालवस्तुहरू बिक्री हुने गर्दछ । अधिकांश वस्तुको क्रय र बिक्री मूल्यबीचको अन्तर २० प्रतिशतभन्दा अधिक रहेका छन् । प्रभावकारी बजार प्रणाली नहुँदा उत्पादन गर्ने उत्पादक र उपभोक्ता दुवै अन्योलमा रहन बाध्य छन् । उत्पादकले राम्रो मूल्य नपाएपछि ऊ उत्पादनका लागि उत्साही हुँदैन भने उत्पादनमा कमी आएपछि बजार प्रणाली सन्तुलनमा ल्याउन सजिलो हुनै सक्दैन ।
भारतबाट आयात गरिएका तरकारी र फलफूलमा व्यापक चलखेल पछि केही अघि थालिएको विषादी परीक्षण गर्ने कार्य अहिले आएर रोकिएको छ । त्यही निहुँमा तरकारी तथा फलफूलका मूल्य अकाशिएको आशङ्का गरिएको छ । दशैंका मुखमा खसीका मासु आकाशिने क्रम सुरु भएको छ । क्वारेन्टाइनका नाउँमा बाहिरबाट खसी आउन कम भएको भन्दै खसीको प्रतिकिलो मासुमा दुई-तीन सय बढाइएको छ ।
दशैंको मुखमा हरेक मालवस्तुको भाउ वृद्धि हुँदा सर्वसाधारण उपभोक्ताको हालत दिन प्रतिदिन नाजुक बन्दै गइरहेको छ । बाहिरबाट आयात भएका मालवस्तुमा खासै मूल्य बढ्नु पर्ने कारण छैन । भारतमा आर्थिक मन्दीका कारण हरेक वस्तु सस्तो भइरहेको छ । त्यहाँ उपभोक्ताको आय घटेकाले बजार चहलपहल सुस्त छ । त्यस्तो अवस्थामा नेपालको अधिकांश व्यापार भारतसँगै निर्भर रहेको हामी सबैलाई थाहा भएकै बिषय हो ।
महंगीसँगै राजधानीमा बसोबास गरिरहेका अधिकांश नागरिकलाई घर फकर्ने अर्को चिन्ता रहेको छ । रोजगारीको लागि राजधानी रहेको सबैजसो मान्यजनको हातको टीका थाप्न घर फर्कने गर्छन् । यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले भनेजस्तो सहजै टिकट काट्न सकिने अवस्था आम नागरिकसँग छैन । टिकट बुकिङमा उचित प्रबन्ध मिलाउन नसक्दा मध्यरातदेखि लाइनमा बसेका यात्रुले समेत टिकट पाउन नसकेको समाचार सञ्चार माध्यममा सार्वजनिक हुनुले वेथितिको पराकाष्ट नाघेको देखिन्छ ।
गोंगबु, कोटेश्वर, गौशाला, बल्खुलगायत टिकट काउन्टरमा मध्यरातदेखि लाइन बसेका यात्रुले पहिलो दिन साँझ ६ बजेसम्म पनि टिकट पाउन नसक्नु भनेको सामन्य कुरो होइन । टिकट लिन महिला, पुरुष, ज्येष्ठ नागरिक, शारीरिक अशक्तता भएकाको छुट्टाछुट्टै लाइनमा राख्ने व्यवस्था समेत सम्बन्धित पक्षले गर्न नसक्नु भनेको आम नागरिकलाई वेवास्ता गर्नुबाहेक अरू के नै हुन सक्छ र ?
दशैं मनाउन उपत्यकाबाट करिब ३० लाख यात्रु गाउँ फर्कने अनुमान गरिएको छ । तर त्यसको व्यवस्थापन कसले गर्ने भन्नेमा अझै पनि मतभेद नै रहेको देखिन्छ । यातायात व्यवसायी राष्ट्रिय महासंघ भने लाइन व्यवस्थापन गर्ने जिम्मेवारी ट्राफिक प्रहरी र तालुक निकायको भएको दाबी गर्छ । तर लाइन व्यवस्थित गर्ने तर्फ भने सुधारको कार्य अझै हुन सकेको छैन ।
घटस्थापनादेखि र फूलपातीसम्म दैनिक एकदेखि डेढ लाख र त्यसपछि साढे दुई लाख यात्रु काठमाडौंबाट बाहिरिने अनुमान यातायात व्यवसायीको छ । टिकट बुकिङ भए पनि यात्रुले सवारीसाधनको नम्बर पाउन नसक्दा थप अन्योलता बढेको देखिएको छ । व्यवसायीले यात्रुसँग डिलक्स र सुपर डिलक्स भनेर यातायात व्यवस्था विभागले तोकेभन्दा २० देखि ४० प्रतिशत बढी भाडा लिएका समाचार सार्वजनिक हुँदा पनि सम्बन्धित निकाय किन मौन बस्यो भन्ने अहिलेको मुख्य विषय बनेको छ ।
घटस्थापनादेखि फूलपातीसम्मका लागि करिब ७० प्रतिशत टिकट बुकिङ हुने व्यवसायीको अनुमान छ । सीमित सिटसंख्या देखाउँदै व्यवसायीले तीन–चार दिनभित्रै बुकिङ बन्द गर्न सक्ने आशङ्काले आम नागरिक रातभर लाइनमा बस्न बाध्य छन् । लाइनमा अशक्त, बुढाबुढीको लागि वैकल्पिक व्यवस्था समेत गर्न सकिएको छैन ।
योभन्दा अघि पनि क्षमताभन्दा कम बुकिङमै टिकट सकिएको बहाना बनाएर व्यवसायीले कालोबजारीमा टिकट नबेचेका भने होइनन् । अहिले पनि त्यस्तै कार्यको पुनरावृति नहोला भन्न सकिंदैन । सबै टिकट काउन्टरमा यात्रुको गुनासो राख्ने सहायता कक्ष राखिने भनिए पनि गोंगबुबाहेक अन्य स्थानमा त्यस्तो व्यवस्था गरिएको छैन । यातायात व्यवस्था विभागको स्वयम्भू, माछापोखरी, कलंकी, नागढुंगा, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, सुन्धारा, पुरानो बसपार्क, फर्पिङ, ललितपुरको सातदोबाटो र भक्तपुरको जगातीमा सहायता कक्ष स्थापना गर्ने योजना अझै पुरा हुन सकेको छैन । यसको तत्काल कार्यान्वयन गर्नुपर्ने खाँचो देखिएको छ ।
चाडपर्वको बेला आम नागरिकको बाध्यताको फाइदा उठाइ अनावश्यक दुःख दिई कृत्रिम अभाव सिर्जना गर्ने व्यक्ति र समूहलाई निष्क्रिय पार्दै सर्वसाधारणलाई राहत दिने वातावरण तत्काल सिर्जना गरी मुलुकमा देखिएको बेथितिको पराकाष्टलाई सधैंको लागि अन्त्य गर्नुपर्ने तर्फ सम्बन्धित पक्षले तत्काल जागरूपता देखाउनु राम्रो हुनेछ । नत्र यसले आम नागरिकमा वितृष्णा फैलाउन सक्छ ।