मासु नपकाएको भन्दै बुबाले आमाको हत्या गरेपछि छोराछोरीको बिचल्ली

आमाको हत्या भएपछि छोराछोरीको बिचल्ली भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ का कृष्ण नेपालीले असार २ गते पत्नीको हत्या गरेका थिए । कृष्णले खानामा मासु नपकाएको भन्दै पत्नीको हत्या गरेका हुन् ।

रक्सीले मातेका उनले पत्नीलाई अन्धाधुन्ध कैंची प्रहार गरी हत्या गरेका थिए । पत्नी हत्यापछि कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् ।



आमाको हत्या र बुबा जेल परेपछि उनीहरुका ४ छोराछोरी बिचल्लीमा परेका छन् । कृष्णकी आमा पार्वतीलाई अहिले नातिनातिनीको साँझ बिहानको भोक मार्ने चिन्ताले गाँजेको छ । कृष्णका छोराछोरीको असारदेखि पढाइ समेत अलपत्र परेको छ । छिमेकी भरत द्वारियाका अनुसार पार्वती वाथरोगले ग्रसित छिन् । घरमा अन्नको दाना समेत छैन । काम गरी कलिला नातिनातिनालाई पाल्न सक्ने ताकत उनमा छैन ।

बुबाले आँखै अगाडि आमाको बिभत्स हत्या गरेको देखेका कृष्णका छोरा छोरी अहिले कसैसँग बोल्न समेत डराउँछन् । आमाको हत्यापछि बिचल्लीमा परेका उनीहरुको पढाईको जिम्मा दिपायल नगर प्रमुख मञ्जु मलासीले लिने प्रतिवद्धता गरेको पार्वतीले बताइन् । ।

‘नातिनातिनालाई पढाउँछु त भन्नुभएको हो’ उनले भनिन्, ‘तर पछि आउनुभएन के पो भयो रु’ नगरपालिका र वडा कार्यालयले तत्काल किरिया खर्चवापत पार्वतीका परिवारलाई ३५ हजार रुपैयाँ दिएका थिए । उनीहरुले त्यस बाहेक अन्य सहयोग पाएका छैनन् ।

सम्बन्धित समाचार