राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएका छन् ।
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने बताए ।
नेता महतोले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने बताउँदै जनताको भावनालाई सम्मान गर्न मधेशवादी छ दल एकीकरण भइसकेको र अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्ने धारणा व्यक्त गरे ।
‘पार्टी एकताका लागि अनौपचारिक रुपमा छलफल भइरहेको छ, तर एकता गर्न समाजवादी पार्टीले सरकार छाड्नुपर्ने हाम्रो सर्त हो’, उनले भने, ‘देशमा नेपाली काङ्ग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो छ र त्यो वैकल्पिक पार्टी एकता पछि सम्भव छ ।’
नेता महतोले जनताको चाहना राजपा र समाजवादी पार्टीको एकता रहेको र यसका लागि नेतृत्व तह पनि सकारात्मक रहेको उल्लेख गर्दै संविधान संशोधन नभएसम्म विरोध भई रहने हुँदा यसको रक्षाका लागि पनि संशोधन आवश्यक भएको बताए ।