जनकपुरमा आज एकाबिहानै गोली चल्यो

जनकपुरमा आज बिहानै गोली चलेको छ । जनकपुरधाम उपमहानगरपालिकाको मूलगेटमै रहेको एउटा पसलमा सटर फुटाएर डकैती गर्ने गिरोहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । जनकपुर उपमहानगरपालिकाको मूलद्वारसँगै टाँसिएर रहेको जनकपुर फर्निसिङको सटर फुटाएर भित्र पस्नेलाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान करिब साढे तीन बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा रौतहटको गौर घर भई जनकपुरधाम –४ मा डेरा गरी बस्ने ५५ वर्षीय विनोद सिंह, रौतहटकै वृन्दावन नगरपालिका –१ रमौलीका ३५ वर्षीय गगनदेव पटेल, भारत बिहारस्थित सीतामढी जिल्ला बैरगनीया –७ का ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी जिल्लाकै रिगा थाना पिपराढी ग्रामपञ्चायत घर भई जनकपुरधाम –४ मा डेरा गरी बस्ने ४० वर्षीय इलियास राइन छन् । सिंहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।



प्रहरीले ३ राउण्ड गोली फायर गरेको थियो । ग्रामीण क्षेत्रमा गस्ती गरी जिल्ला प्रहरी कार्यालय फर्किरहेको सादा पोसाकमा रहेको प्रहरी टोलीले डाँकालाई नियन्त्रणमा लिएको हो । बिहान करिब साढे तीन बजे उपमहानगरपालिकाको कार्यालय गेट अगाडि सटर दुई फिटजति उठेको र भित्र बत्ती बलिरहेको देखेपछि प्रहरीले गाडी रोकेर थप जान्न खोजेको थियो । प्रहरी आएको थाहा पाउने बित्तिकै सटरभित्रबाट चार जना निस्केर दुई जना शिव चोकतर्फ र दुई जना भानु चोकतर्फ भागेका थिए । प्रहरीले लखेट्न सुरु गरेपछि दुई जना जनकपुर उद्योग वाणिज्य संघको कार्यालयतर्फ भागेको प्रहरीले बतायो ।

सो कार्यालयको मोडमा पुगेपछि एउटाले प्रहरीलाई पेस्तोलले ताकेपछि प्रहरीले गोली चलाएको थियो । जिल्ला प्रहरी कार्यालय, क्राइम ब्रान्चका इन्चार्ज सई सन्तोष झाको कमाण्डमा रहेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । गोली लागेर घाइते भएका विनोद सिंहसमेत दुई जनालाई त्यही पक्राउ गरिएको थियो तर थप दुई जनालाई लखेटेरै पुलचोकबाट पक्राउ गरी ल्याइएको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान भइरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको जानकारी दिएको छ ।

सम्बन्धित समाचार