उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बहानामा भोगचलन गर्न नपाउने बताएका छन् । नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नं ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफल जमीनको आज अनुगमन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
नेपाल ट्रष्ट सञ्चालक समितिका अध्यक्षसमेत रहेका पोखरेलले भने, “यो नेपाल ट्रष्टको नाममा लालपुर्जा भएको सम्पत्ति हो, नेपाल ट्रष्टको नाममा रहेको जग्गामा कहीँकतै, कुनै व्यक्ति, एकाइ वा कुनै निकायले केही गर्न सक्दैन ।”
नेपाल ट्रष्ट कानूनअन्तर्गत चलेको र आफ्नो नामको सम्पत्ति व्यवस्थित गर्न कानून बनेको चर्चा गर्दै उनले मन्त्रिपरिषद्को निर्णयबिना केही गर्न नसकिने बताए । नेपाल ट्रष्टको नाममा रहेको जग्गा अब ट्रष्ट आफैँले संरक्षण गर्ने भन्दै उनले ट्रष्टले काठमाडौं उपत्यकाको मात्रै नभई पोखरा, हेटौँडा, भरतपुर, सुर्खेत, धनगढीलगायत देशभर रहेका सम्पत्तिको संरक्षण शुरु गरेको बताए । यहाँको जग्गाको हकमा भने स्थानीय जनता, सम्बन्धित नगरपालिका, प्रदेश सरकार र जनप्रतिनिधिको छलफलबाट विधिसङ्गत साझा धारणा बनाएर निर्णय गर्ने भनाइ उनले राखे ।