नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनःगठन हुने संकेत गरेका छन् । जिरी नगरपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले छिट्टै मन्त्रिपरिषद् पुनःगठन हुने र पुनःगठन हुँदा दोलखाले मन्त्री पाउने बताए ।
दोलखाका सांसद्लाई मन्त्री बनाउने आश्वासन दिदैं दाहालले भने, ‘दोलखा जिल्लाले सङ्घ र प्रदेशमा समेत मन्त्री पाउन नसकेको गुनासो गर्नुभयो । मन्त्री नहुँदा नै विकासमा पछि पर्नु नपर्ने हो । समानुपातिक विकास हुनुपर्ने हो । तर चिन्ता लिनु पर्दैन । मन्त्रिपरिषद् पुनःगठन हुँदा दोलखाले मन्त्री पाउनेछ ।’
राजधानी प्रदेशको दोलखाजस्तो जिल्ला विकासमा पछि पर्नु नपर्ने प्रचण्डको भनाइ थियो । देशविदेशको ध्यान पुगेको दोलखाका जिल्लाबाट सरकारमा प्रतिनिधित्व नभएको भन्दै नेतृत्वको कमजोरी समेत स्वीकार गरे ।
साढे तीन करोड लागतमा नगरपालिकाले आफ्नो भवन निर्माण गरेको बताउँदै नगरपालिकाको कार्य सम्पादनले सिंहदरबार जनताको घर आँगनमा आएको आभास भएको प्रचण्डको भनाइ थियो ।