विद्यार्थी र अभिभावकले चितवन मेडिकल कलेजलाई दिए २४ घण्टे अल्टिमेटम

सरकारले तोकेको भन्दा बढी शुल्क विद्यार्थीबाट लिइएको भनी बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम दिइएको छ।

आइतबार विद्यार्थी र अभिभावकहरुले सीएमसीलाई २४ घण्टे अल्टिमेटम दिएका हुन्।



आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने जनाएका छन्।

‘भोलि असोज १३ गते बिहान ११ बजेसम्म उक्त काम भएन भने चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक आम नागरिक सम्मिलित विरोधको कार्यक्रम शुरु गर्ने र सबै अवैध शुल्क फिर्ता नभएसम्म त्यसलाई जारी घोषणा गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

विद्यार्थीका तर्फबाट प्रकाश चन्द र अभिभावकका तर्फबाट निर्मला कँडेलले हस्ताक्षर गरेको सो विज्ञप्तिमा यही असोज १० गतेभित्र विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिनेगरी सहमति भए पनि कलेजले आलटाल गरिरहेको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन्।

उनीहरुले शुल्क फिर्ता नगरे आन्दोलन चर्काउनुको विकल्प नभएको बताएका छन्।

सम्बन्धित समाचार