महामन्त्री डा. शशाङ्क कोइरालाले गरे पार्टीलाई एक ढिक्का हुन आग्रह

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले काङ्ग्रेस एक ढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताएका छन् । नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको ‘शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम’ मा उनले काङ्ग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।

‘काङ्ग्रेस गुटरहित र एक ढिक्का भए अर्को निर्वाचनमा कसैले हराउन सक्दैन’ उनले भने । महामन्त्री कोइरालाले वर्तमान सरकारले मुलुकलाई सङ्कटमा पार्न खोजेको पनि आरोप लगाए ।



काङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले नागरिक स्वतन्त्रतालाई हनन् गर्न खोजेको बताए । ‘ज्ञानेन्द्र शाही नागरिक हुन्, उनले जुनसुकै ठाउँमा हिँड्ने र बोल्न पाउने अधिकारमाथि सरकारले कुण्ठित गरेको छ’ उनले भने । वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको पनि उनले आरोप लगाए ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले वर्तमान सरकारले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा नारामा मात्र सीमित भएको उनको भनाइ थियो ।

कार्यक्रममा काङ्ग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले दुई चरणको जागरण अभियानले पार्टी कार्यकर्तामा ऊर्जा थपिए पनि गुट–उपगुट अन्त्य नभई पार्टी बलियो नहुने बताए ।

सम्बन्धित समाचार